महाभूकम्पको ४ वर्ष
सरकारी राहतमा घर तर गाउँले पसे सहर

२०७२ सालको भूकम्पको याद आउँदा अहिले पनि मन झस्किन्छ, अत्यास लाग्छ, यो भोग्ने जति सबैले अनुभूत गरेकै कुरा हो । भूकम्पपछि म गोरखास्थित घर पुगेको थिएँ । महाभूकम्पको केन्द्रविन्दु गोरखामै बसेर अनुभव नगरे पनि लगत्तै गाउँ पुगेर क्षतिग्रस्त भौतिक संरचनाको अवलोकन गरेँ । त्यो कहालीलाग्दो अवस्था कहिले अन्त्य होलाजस्तो लागेको थियो ।

समय फेरियो, दिन बित्दै गए । ४ वर्ष लाग्यो । खण्डहर गाउँ पनि अहिले बदलिएको छ । सरकारी, गैरसरकारी पुनर्निर्माण अभियानले गाउँको स्वरूप फेर्दै छ, ध्वस्त संरचनाको पुनर्निर्माण भएका छन् । अहिलेसम्म पुनर्निर्माण र नवनिर्माणमा भएको तीव्रता, गाउँको सामाजिक, आर्थिक र शैक्षिक स्तरमा भएको परिवर्तनबारे यस आलेखमा विस्तार गर्नु सान्दर्भिक हुनेछ । यसको उद्देश्य पुननिर्माण-नवनिर्माण र सामाजिक परिवर्तनबारे जानकारी गराउनु हो । 

विनाशकारी महाभूकम्पका कारण ठूलो जनधनको क्षति भयो । अकल्पनीय भौतिक क्षति देख्नुपयो । आँखामा आँसु रहुन्जेल रोएका भूकम्पपीडितको अवस्था पनि देखियो । गाउँका प्रायः सबै मानवबस्ती महाभूकम्पबाट क्षतिग्रस्त भई भग्नावशेषमा परिणत भएका थिए । महाभूकम्पको केन्द्रविन्दु गोरखालगायत १४ जिल्लालाई सरकारले अति संकटग्रस्त सूचीमा राखेको थियो ।

भूकम्प गएको दिन मानिसहरू बिहान खेतबारीमा काम गरेर फर्कंदै थिए । कोही काममा जाँदै थिए । कोही भने खाना खाएर आराम गर्दै थिए । मध्याह्नमा आएको भूकम्पले सबैलाई तितरवितर बनायो । मानवीय क्षतिभन्दा गाउँमा भौतिक संरचनार पशुचौपायको बढी क्षति भयो । गाई, गोरु, बाख्रा, भैँसी आदि मरे । भूकम्पले घर क्षति पुर्याएका कारण सबै पीडितले पाल टाँगेर खुला ठाउँमा कैयौँ रात काटे । अहिल सबैतिर यही कहालीलाग्दो अवस्था त छैन, तर कतिपय दुर्गम गाउँमा यो समस्या पनि उस्तै रहेको देखियो ।  गाउँघरका अधिकांश विद्यालय भवन भूकम्पले चर्काएको थियो भने कुनै पूर्ण रूपमा क्षति पुर्याएको थियो ।

अहिले केही दातृनिकायको सहयोगमा विद्यालय पुनर्निर्माणको क्रम जारी नै छ । विद्याथीहरू भने जस्तापाता र काठले बनाइएका अस्थायी टहरामै अध्ययन गरिरहेका छन् । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ३ स्थित श्री जीवनज्योति माध्यमिक विद्यालयको निर्माण कार्य जापानी दातृसंस्था जाइकाको सहयोगमा सम्पन्न भइसकेको छ  । जुन २०७५ सालमा निर्माणसम्पन्न भयो । यतिखेरसम्म पनि गाउँमा धमाधम पुनर्निर्माण कार्य जारी छ । कतिपयको भूकम्पपीडितको घर निर्माण भइसकेको छ भने केहीको जारी छ । गोरखाकै अजिरकोट गाउँपालिकाको कुरा गर्ने हो भने त्यहाँ करिब ८० प्रतिशत घर बनिसकेका छन् । सरकारी मापदण्डअनुसार नै घर निर्माण गरिएका छन् । बालुवा, गिटी, फलामे छड, सिमेन्ट, ढुंगा, काठ, जस्तापाता सबै प्रयोग गरेर सबैले एकै किसिमको घर निर्माण गरिएको देखियो । 

सरकारी मापदण्डअनुसार घर बनाइएको हुनाले बलियो हुने दाबी इन्जिनियरहरूले गरेका छन् । इन्जिनियरहरूले घरको जग, पहिलो, दोस्रो, तेस्रो र चौथो डिपिसीसम्मको अनुगमन गरेपछि मात्र भूकम्पपीडितले पाउने राहतको फारम भरेर सम्बन्धित निकायमा पठाइन्छ । सरकारी नियमविपरित बनाइएका घर पास नहुने भन्दै कतिपय व्यक्तिको घर इन्जिनियरले नै भत्काइदिएको पनि देखियो ।



काठपात, ढुंगा आफैँसँग भए सरकारले दिएको रकमले बलियो घर निर्माण हुने रहेछ । तर, काठपात, ढुंगा नुहँदा भने घर निर्माणको खर्च करिब सात लाख पुग्ने रहेछ । गाउँमा सबैसँग काठपात र ढुंगा नभएका कारण किन्नुपरेको छ । बालुवा, गिटी, फलामे छड, सिमेन्ट, ढुंगा, काठ, जस्तापाता सबै किन्नुपर्दा र सिकर्मी–डकर्मीको चर्को ज्यालाका कारण लागत बढी भएको स्थानीय शिक्षक केशव दवाडीले जानकारी दिए । अर्का स्थानीय लालबहादुर दवाडीको घर ६ लाख रुपैयाँमा बनेको उनले जानकारी दिए । घर निर्माण सामग्री सबै किन्नुपरेकोले त्यति रकम लागेको उनको भनाइ छ ।

भूकम्पप्रभावित १४ जिल्लामा घर बनाउने कर्मीको अभाव छ । गोरखा, लम्जुङतिरचाहिँ रुकुम, रोल्पा, बाँके जिल्लाका कर्मीहरू आएर पुनर्निर्माणको काम गरेका छन् । उनीहरूले ठेक्कामा वा दिनगन्तीमा पनि काम गर्ने गरेका रहेछन् । टाढाबाट आएका उनीहरू दिनभरि काम गर्छन् । बेलुकीको खाना खाएर सधैँ नाचगान गर्छन् । तिनको काम गर्ने शैली बेग्लै, बोल्दा छुट्टै लवज आउने । उनीहरूले बोलेको भाषिका सुन्दा आनन्द आउने, सिक्न पाइने । नचिनेका मान्छे पनि सँगै हिँडेपछि आफन्तजस्तै लाग्छन् । फूलको डाली फूलैले नुगायो भनेजस्तो । मान्छेले मान्छेलाई रिझाएपछि सामीप्यता बढ्दो रहेछ । ती कर्मीहरू पनि हाम्रा आफन्तजस्तै भए ।



गाउँँबाट बसाइँसराइ बढ्दो छ । मुख्यतः भूकम्पपछि बसाइँसराइ बढेको हो । बसाइँ सराइका लागि चितवन, पोखरा, काठमाडौंलगायत सहर मुख्य आकर्षण बनेका छन् । गाउँमा घरधुरी पातलिएको छ । दशकअघिसम्म बस्ती रहेको ठाउँ अहिले जंगलमा परिणत भएको छ । सुरक्षा र सुखसयलको जीवन बिताउन मानिहरूले बसाइँ सरेको देखिन्छ । अहिले गाउँमा विकास भने भएको छ । उच्च शिक्षाको विस्तार भएको छ । पानी, बिजुली, यातायात पुगेर विकासको आधारभूत पूर्वाधार प्राप्त भएको छ । तर, गाउँमा युवाको भने कमी छ । युवाहरू रोजगारीका लागि बिदेसिएका छन् । मर्दापर्दा समेत युवा अभाव हुने गरेको देखिन्छ ।

गाउँमा पुनर्निर्माणले तीव्रता त पाएको छ । तर, जुन गतिमा काम हुनुपर्ने थियाे, त्याे नभएकाे देखियाे । पुनर्निर्माण प्राधिकरणमा पटक–पटक सिइओ परिवर्तन हुनुले पनि पुनर्निर्माणमा असर पर्यो । कम्तीमा पनि प्राधिकरणजस्ता संवेदनशील निकायमा राजनीतिक हस्तक्षेप नहुने हो पीडित जनताले समयमा नै राहत पाउँथे । पीडितले अरुकाे राहतमा मात्रै  आस नगरेर आफ्नाे गाउँ आफैँ बनाऔँ भनेर लाग्ने हाे भने देशकाे विकास हुन धेरै वर्ष लाग्ने थिएन । ०७२ सालकाे महाभूकम्पले हामी नेपालीलाई यही पाठ पढाएर गएकाे छ ।  

  • प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार १४:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया