डा. बाबुराम भट्टराईले ट्विट गर्दै भने– सरी बारपाक

काठमाडौँ– विनाशकारी भूकम्प गएको चार वर्ष भयो । २०७२ साल वैशाख १२ गते शनिबार १२ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु थियो, गोरखाको बारपाक । त्यसलाई सरकारले ‘गोरखा भूकम्प’ नाम राखेको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण भने भइसकेको छैन । निर्माणकार्य कहिले सकिन्छ, यसबारे पुनर्निर्माण प्राधिकरणसँग उत्तर छैन । 

आज वैशाख १२ गतेलाई धेरैले सम्झना गरेका छन् । यसको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले भूकम्पको स्मरण गर्दै कार्यक्रम गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलगायतले भूकम्प दिवसलाई स्मरण गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्षअघिको विनाशकारी भूकम्पको स्मरण गर्दै सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजग रहन भूकम्पले पाठ सिकाएको बताएका छन् । भूकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माण गर्न वर्षौं लाग्ने बताउँदै ओलीले पुनर्निर्माणको कार्यलाई युद्धस्तरमा अगाडि बढाएको जानकारी दिए । 

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाकलाई जोडेर ट्विट गरेका छन् ।‘विनाशकारी भूकम्पको केन्द्र बारपाकको पुनर्निर्माणपछि खुसी र दुःखको अनुभूति एकैसाथ भइरहेछ,’ उनले ट्विरमा लेखेका छन्, ‘वारपाकले संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभारी छु, तर यो नयाँ बारपाक र त्यो पुरानो बारपाक हेरौँ त ! घले र गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो । हामी चुक्यौँ । सरी बारपाक !

पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । विपद् व्यवस्थापनमा लाग्न सबैलाई आग्रह गर्दै उनले लेखेका छन्, ‘गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको चौथो वर्ष । भूकम्पमा ज्यान गुमाउनु भएकाहरूको स्मरण गर्दै श्रद्धासुमन व्यक्त गर्दछु ।’ 

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले भूकम्पमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलनको कार्यक्रम गर्दै भूकम्पपछिको पुनर्निर्माणमा सरकारलाई दबाब दिने भएको छ । 





  • प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार १६:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया