logo-img

प्रस्तावित निर्वाचन आयुक्त प्रधानले किन फिर्ता लिए उम्मेदवारी ?

निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेको संसदीय सुनुवाइ समितिलाई जानकारी गराएका छन् । 

समितिलाई आज पत्र लेख्दै उनले संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको स्पष्ट पारेका हुन् । 

भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान् रहने बचनबद्धता व्यक्त गर्दै प्रधानले लेखेको पत्रमा भनिएको छ, ‘सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समिति समक्ष जानकारीसहित अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’

संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएको थियो । समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको संसदीय सुनुवाइ गरेको थियो । 

बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । उनका विरुद्धमा महिला हिंसा गरेको आरोप लगाउँदै चारवटा उजुरी परेका थिए । 





  • प्रकाशित मिति : साउन १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया