प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।
‘आलु सुपरजोन’का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । प्रारम्भिक चरणमा हाल दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो ।
भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भन्डारण कक्ष निर्माणसहित प्याजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए । ‘हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक बर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ’, उनले भने । उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा १४ लाख सहयोगमा गरेको थियो ।
केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् । उद्योगले ‘काभ्रेको चिनारी : पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजि ८० का दरले प्याजिङ गरिएको आलु बजार पठाएको हो । ‘आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ’, अधिकारीले भने । उनी अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ ।
उपभोक्ताले आफूलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितीका प्रमुख सुमन नेपालले ढुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरे ।
जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभ्रेको नौ हजार हेक्टर क्षेत्रफलमा वार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।