logo-img

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलोपटक भारतलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५–१७ ले पाखा लगायो । तर, चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौँ सेटमा भारतलाई १५–१३ ले पराजित गर्‍यो । 

उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । 

उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । 

जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलंकामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो । 





  • प्रकाशित मिति : साउन १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया