नेकपामा पोलिटब्युरो गठनपछि केन्द्रीय सदस्यको कार्यविभाजन गरिने

काठमाडौं– जिल्ला तहमा पार्टी एकताको टुंगो लगाएपछि नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का नेताहरू पोलिटब्युरो गठनमा लागेका छन् । पोलिटब्युरो गठनपछि केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरिने सो पार्टीले जनाएको छ ।
   
पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटीको एकतिहाई रहनेगरी पोलिटब्युरो गठन गर्ने व्यवस्था छ । जसअनुसार पोलिटब्युरो सदस्य संख्या १ सय ४७ हुनेछ । नेकपाको  शीर्ष तहमा पोलिटब्युरो गठनपछि केन्द्रीय सदस्यकोे कार्यविभाजन टुंग्याउने सैद्धान्तिक सहमति भएको स्रोतले बतायो ।

नेकपामा अहिले ४ सय ४१ केन्द्रीय सदस्य छन् । तीमध्ये पूर्वएमालेका साबिकका पोलिटब्युरो सदस्य तथा माओवादीका साबिकका सचिवालय सदस्यमध्येबाट वरिष्ठताका आधारमा पोलिटब्युरो सदस्य बनाउने सैद्धान्तिक सहमति भएको छ । स्थायी कमिटी सदस्य वेदुराम भुसालले वरिष्ठताका आधारमा पोलिटब्युरो कमिटी गठन हुने जानकारी दिए । उनले भने, ‘पूर्वएमाले र पूर्वमाओवादीबाट वरिष्ठताका आधारमा छानिने गरी पोलिटब्युरो कमिटी गठन हुनेछ ।’

पूर्वएमालेबाट माधव नेपालसँगको सहमतिमा केपी शर्मा ओली तथा पूर्व माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले नै सूचीलाई अन्तिम रूप दिएपछि सचिवालयबाट पारित गर्ने नेकपाको तयारी रहेको छ । 

पोलिटब्युरो कमिटी बनेपछि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न सहज हुने भएकाले शीर्ष नेताहरूबीच पहिले त्यसमा सहमति जुटेको बताइएको छ । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सैद्धान्तिक सहमतिपछि महासचिव विष्णु पौडेलले पोलिटब्युरोमा रहने नेताको सूची तयार पार्दै छन् ।

नेकपाले यसअघि सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला कमिटीको टुंगो लगाइसकेको छ । 





  • प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार १८:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया