भारतविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली श्रीलंकाले जितेको छ । गएराति सम्पन्न तेस्रो खेलमा भारतलाई ११० रनले हराउँदै श्रीलंकाले सिरिज २–० ले जितेको हो । उसलाई भारतविरुद्धको एकदिवसीय श्रृंखला जित्न २७ वर्ष कुर्नु पर्यो ।
श्रीलंकाले पछिल्लोपटक सन् १९९७ मा भारतसँगको एकदिवसीय श्रृंखला जितेको थियो । भारतीय टिम र गौतम गम्भीरका लागि भने श्रीलंका भ्रमण सुखद रहन सकेन । गम्भीरले यही भ्रमणबाट भारतीय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । तर, उनले प्रशिक्षकमा डेब्यू गरेको एकदिवसीय सिरिजमा भारतले लज्जास्पद प्रदर्शन गर्यो ।
सिरिजको तेस्रो खेलमा श्रीलंकाले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा १ सय ३८ रनमै अलआउट भयो । उसका लागि कप्तान रोहित शर्माले ३५, वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २० र रियान परागले १५ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतीय इनिङ ध्वस्तपार्नेक्रममा श्रीलंकन स्पिनर दुनिथ वेलालागेले ५.१ ओभरमा २७ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, महीश थिक्क्षण र जेफ्री भान्डरसेले दुई/दुई तथा असिथा फर्नान्डोले एक विकेट लिए ।
त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४८ रन बनायो । उसका लागि ओपनिङ ब्याटर अभिष्का फर्नान्डोले उत्कृष्ट पारी खेले ।
१०२ बलको सामना गरेका उनले ९ चौका र दुई छक्कासहित ९६ रनको पारी खेलेका हुन् । यस्तै, कुशल मेन्डिसले ५९, पथुम निशांकाले ४५ र कामिन्दु मेन्डिसले अविजित २३ रनको योगदान दिए ।
भारतका लागि रियान परागले तीन, कुलदीप यादव, वासिङ्टन सुन्दर, अक्षर पटेल र मोहम्मद सिराजले एक/एक विकेट लिए ।
सिरिजको पहिलो खेलमा १८ बलमा ५ रन जोड्न नसक्दा बराबरी खेलेको भारतले दोस्रो ओडिआई ३२ रनले गुमाएको थियो । उसले श्रीलंकाविरुद्धको टी–२० सिरिज भने ३–० ले क्लिन स्विप गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।