logo-img

६ संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

संघीय संसदअन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छन् ।

संसद् सचिवालयका अनुसार बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेका हुन् ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजीबजारसम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातात्त्विक महत्वका सम्पदाको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्त्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।



शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षायाममा डेंगु, हैजालगायत सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 



  • प्रकाशित मिति : साउन २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया