logo-img

८० वर्षमा पनि तन्नेरीको जस्तो जोस, डोरी बेचेर महिनामा ३० हजार आम्दानी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उनले तन्नेरीझैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ३० हजार बढी आम्दानी गर्दै आएको छ ।  

बजारमा सिमेन्ट राख्न प्रयोग भएका खाली बोरा खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाट्ने (बनाउने) गरेका छन् । डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन् ।

एउटै डोरी २ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘घरमै बसेर डोरी तयार गर्छौँ,’ उनले भने, ‘तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुर्याएर बिक्री गर्दै आएको छु ।’ 

दैनिक १ हजार जतिको डोरी बिक्री हुने गरेको उनी बताउँछन् । डोरी बेच्नकै लागि बिहानीको खाना खाएर गाउँ चहार्दै हिँड्ने राना साँझ अबेर मात्रै घर फर्किने गर्दछन् । डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथलगायत बनाउने गर्दछन् । सबैभन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ ।  गाईगोरु बाध्नका लागि प्रयोग हुने छडकी ग्राहकले बढी किन्ने गरेको रानाले बताए । 

डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन् । ‘धेरै परिवार हुँदा आर्थिक अभाव सधैं भइरहन्थ्यो,’ उनले भने, ‘त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हुँदैनथ्यो, गोठालो जान्थे, अरूले डोरी बनाएको देखेर त्यसबाटै सिके । पहिला बावियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो । खेतबारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे । जव देखि बजारमा प्लाष्टिकका डोरी आए त्यसपछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे ।’ जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिकका बोरा खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उनी बताउँछन् ।

व्यावसायिकरूपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेरपछि गर्न थालेको उनले बताए । घरमा कोही बिरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उनले सहयोग गर्छन् । विवाह गरेको दुई वर्षमै श्रीमतीको निधन भएपछि रानाले दोस्रो विवाह गरेनन् । उनी जेठो दाजुको घरमा बस्दै आएका छन् । डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल किन्न सहयोग गरेका छन् ।  



‘मोटरसाइकल किन्न थोरै रकम मैले जुटाए,’ डुठ्ठा रानाले भने, ‘२ लाख रकम डोरी बेचेर आएको रकम बाजेले बेहोर्नुभयो ।’ परिवारलाई आवश्यकता परेका बेला उनले आर्थिक सहयोग गर्दा नै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ छ । ‘घरमा ठूलो काम गर्दा लाग्ने पैसा उहाँले नै दिनु हुन्छ,’ उनले भने, ‘स–सानो काममा भने पैसा दिन कन्जुस्याइँ गर्नु हुन्छ । उमेर छँदा डोरी बेचेर महिनामै ५०/६० हजारसम्म पनि कमाउँथे, उमेर ढल्किँदै जाँदा कमाइ पनि घटेको छ ।’ 

उनी घर खर्चसँगै आफूलाई आवश्यक भएको लुगाफाटो, जुत्ता, चप्पल, औषधपचारलगायतको खर्च डोरी बेचेर आएको रकमबाटै बेहोर्दै आएका छन् । आफूलाई चाहिने खर्च अरूसँग मागेको अहिले सम्म नदेखेको डुठठा बताउँछन् । 



‘हामीले आपतविपत परेका बेला उहाँसँग पैसा माग्छौँ उहाँले अहिले सम्म हामीसँग पैसा माग्नु भएको छैन,’ उनले भने । पूर्ववडाध्यक्ष जगता राना  पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रूपमा आफूले बन्धुलाई चिनेको बताउँछन् । ‘व्यावसायिक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरूले सिक्नुपर्ने हुन्छ,’ उनले भने । रासस

  • प्रकाशित मिति : साउन २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया