अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)ले आगामी साउन ३१ गते बिहीबार शैक्षिक मेला आयोजना गर्ने भएको छ ।
विदेशी सम्बन्धनप्राप्त कलेजहरूको छाता संगठन आइप्यानले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे परामर्श दिने उद्देश्यले ‘एजुकेसन फेयर–२०२४’ आयोजना गर्न लागेको हो । कार्यक्रम नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।
आइप्यानमा आबद्ध कलेजहरूले विश्वका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमै विदेशी डिग्री उपलब्ध गराउँदै आइरहेका छन् । नेपालमै बसेर विदेशी डिग्री लिन चाहने विद्यार्थीलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको छ ।
कक्षा १२ पछिको शैक्षिक भविष्यलाई कसरी अघि बढाउने भनेर सोचिरहेका विद्यार्थीलाई यो शैक्षिक मेला लाभदायक बन्न सक्छ । राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार कक्षा १२ वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा र अध्ययनपछिको भविष्यबारे जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गरिएको आइप्यानका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
उनका अनुसार उक्त शैक्षिक मेलामा सहभागी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी लिन सक्नेछ । कार्यक्रममा २३ वटा विदेशी सम्बन्धनप्राप्त कलेजहरूले सहभागिता जनाउनेछन् भने ती सबै कलेजले उपलब्ध गराउँदै आएको सेवाबारे विद्यार्थीले जानकारी लिन सक्नेछन् ।
विद्यार्थीको शैक्षिक भविष्य थप सहज बनोस् भन्ने उद्देश्यले आइप्यानले पहिलोपटक शैक्षिक मेला आयोजना गर्न अध्यक्ष केसीले जानकारी दिए । उक्त शैक्षिक मेलामा सहभागी विद्यार्थीले मन परेको कलेजमा उतिखेरै भर्ना गर्न पनि सक्नेछन् । उक्त मेलामा सहभागी विद्यार्थीलाई कलेजहरूले शतप्रतिशतसम्म छात्रवृत्ति दिनेछन् ।
त्यसका लागि विद्यार्थीले कक्षा १२ मा प्राप्त गरेको जिपिएलगायत विभिन्न मापदण्ड पूरा गर्नुपर्ने अध्यक्ष केसीले बताए । अध्यक्ष केसीले शैक्षिक मेलामा सहभागी भएर विद्यार्थी, अभिभावकलगायत सबैले उच्च शिक्षाबारे जानकारी लिन सक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।