नयाँदिल्ली– आइतबार अमेठीको पश्चिम दुआरा गाउँस्थित खेतमा अचानक आगो लाग्यो । सयौँ बिघामा फलेको गहुँबाली जलेर नष्ट भयो । घटनास्थलमा प्रहरी र फायर ब्रिगेडभन्दा पहिले पुगिन् लोकसभामा कांग्रेस अध्यक्ष राहुल गान्धीसँग चुनाव लडिरहेकी केन्द्रीय टेक्सटायल मन्त्री स्मृति इरानी ।
आगलागीको खबर पाउनासाथ चुनावी प्रचार छोडेर त्यहाँ पुगेकी इरानीले आगो निभाउन स्थानीय जनतालाई सहयोग गरिन् ।
सूचना दिएको निकैबेरसम्म पनि सम्बन्धित इलाका हेर्ने सब–डिभिजनल मेजिस्ट्रेट नआइपुगेपछि उनले डिस्ट्रिक्ट मेजिस्ट्रेट (जल्लाको प्रशासकीय प्रमुख) लाई फोन लगाइन् । सब–डिभिजनल मेजिस्ट्रेट भिआइपी ड्युटीमा रहेको थाहा पाएपछि उनी रिसाइन् । जनताको मद्दतबाटै मानिस भिआइपी बन्ने भन्दै स्मृति कड्किइन्, ‘जनताको मद्दतभन्दा ठूलो भिआइपी ड्युटी के हुन्छ ?’
स्मृति फयर ब्रिगेडभन्दा पनि पहिले आगो लागेको ठाउँमा पुगेकी थिइन् । उनले ह्यान्ड पम्प खिचेर बाल्टीमा पानी भरिन् । रोइरहेका महिलालाई पानी पिलाइन् । उनले यसो गरेको देखेर उनीसँगै पुगेका कार्यकर्ताहरु आगो निभाउन थाले । केहीबेरमै फायर ब्रिगेड आइपुग्यो । प्रहरी र अधिकारीहरु काममा जुटे ।
आफ्नो सबथोक जलेको देखेर किसान महिलाहरु स्मृतिसँग टाँसिएर रुन थाले । महिलाहरुलाई सान्त्वना दिँदै उनले धैर्य राख्न आग्रह गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।