logo-img

एएफसी च्यालेन्ज लिगमा पारोसँग भिड्दै चर्च ब्वाइज

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्लेअफमा भुटानको पारो एफसीविरुद्ध खेल्दै छ । 

यी दुई टिमबीचको प्रतिस्पर्धा मंगलबार साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । चर्च ब्वाइज र पारो एफसी शीर्ष डिभिजन लिग विजेता हैसियतमा आमनेसामने हुन लागेका हुन् । 

यी दुईबीचको विजेता टिमले दोस्रो चरणमा यात्रा गर्नेछ । गत सिजनमा पनि पारो एफसीले नेपालमा प्रतिस्पर्धा गरेको थियो । उक्त संस्करणमा ऊ मच्छिन्द्र एफसीसँग ३–२ ले पराजित भयो ।

यसपालि भने पारो एफसी उक्त हारको बदला लिँदै चर्च ब्वाइजलाई हराउने लक्ष्यमा छ । त्यसकै लागि पारोको टिम जापनिज स्टार केसुके होन्डासहित २२ खेलाडी लिएर नेपाल आएको छ । उनीहरूमध्ये ११ विदेशी खेलाडी हुन् ।  

मंगलबार साँझ धेरै समर्थकको नजर होन्डामाथि हुनेछ, उनी जापानका लोकप्रिय फुटबलर हुन् । होन्डाले तीनपटक फिफा विश्वकप खेलिसकेका  छन् । साथै, उनीसँग इटालीको चर्चित क्लब एसी मिलान, रसियाको सिएसकेए मस्कोजस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेको अनुभव छ ।

होन्डाले सन् २००८ देखि २०१८ सम्म जापानको राष्ट्रिय टिमबाट ९८ म्याच खेले, जहाँ उनले ३७ गोल गरेका छन् । होन्डाले कम्बोडियाको राष्ट्रिय टिम र यू–२३ टिमको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । विश्वकप फुटबलदेखि युरोपियन लिग खेलिसकेका होन्डा अब नेपालमा पनि स्मरणयोग्य पदर्शन गर्दै पारोलाई अर्को चरणमा पुर्याउन चाहन्छन् ।



यस्तै, पारो एफसीमा भुटानको राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी पनि छन् । यता बालगोपाल महर्जन प्रशिक्षक रहेको चर्च ब्वाइजमा अनन्त तामाङ कप्तान छन् । त्यस्तै, टिममा अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, सनिस श्रेष्ठ, सञ्जित राई, सन्तोष खत्री, दीप कार्की, सञ्जिव विष्ट, लाकेन लिम्बूलगायत नेपाली स्टार छन् ।

चर्च ब्वाइजको टिममा तीनजना मात्र विदेशी खेलाडी छन् । उसले पारोविरुद्ध विदेशी खेलाडीको रूपमा नाइजेरियाका ओमोलाजा करीम, जाम्बियाका पिटर बान्दा र घानाका मोजेस ग्याबा त्वामलाई मैदान उतार्नेछ ।   



  • प्रकाशित मिति : साउन २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया