विचार
अब यसरी अगाडि बढ्नुपर्छ नेकपा

नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा पूर्वमाअ‍ोवादी र पूर्वएमालेबीच भएको पार्टी एकता ऐतिहासिक कदम हो । यसले कम्युनिस्ट विचारलाई अझ बलियो बनाउन सहयोग गरेको छ, कम्युनिस्टहरु मिलेर अगाडि बढ्दा देशलाई अझ धेरै राम्रो हुने विश्वास यस्तो कदमबाट लिन सकिन्छ । 

अहिले नेपाल कम्युनिस्ट पार्टी ठोस कार्यनीति तथा रणनीति बनाएर अगाडि बढेको छ । कार्यनीति भनेको लामो संघर्ष गर्दे आएको राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, मुलुक संघीय प्रणालीमा जानुलाई  लिन सकिन्छ । संविधान निर्माण हुनु, गणतन्त्र स्थापना हुनु भनेको नयाँ युगको थालनी हो, एउटा राजनीतिक युगको अन्त्य हो । नयाँ युगलाई सफल पार्न नयाँ उद्देश्य र मिसन लिएर अब अर्को क्रान्ति गर्न र त्यसलाई सफल बनाउन यो एकता भयो । यो एकता फगत ठूलो पार्टी बनेर चुनाव जित्न मात्रै भएको होइन । यसको ठूलो मिसन छ, ठूलो उद्देश्य छ ।  अबको उद्देश्य भनेको वैज्ञानिक समाजवाद हो । अब यसलाई कार्यान्वयन गर्न, समाजवाद पहिल्याउन एकताबद्ध हुनै पथ्र्यो ।

पार्टी एकताको लक्ष्य भनेको त्यस्तो समाजवाद हो जुन बुर्जुवा समाजवाद नभई सामाजिक न्याय सहितको समाजवाद होस् भन्ने परिकल्पना हो । त्यसको आधारहरू तयार गर्ने काम कम्युनिस्ट पार्टीले मात्रै गर्छ । त्यसो भएको हुनाले हामीले वैज्ञानिक समाजवाद निर्माण गर्ने आधारहरू तयार पार्न एक भएका हौं । मुलुकको विकास निर्माण र समृद्धिकोका हामी बहुमतको सरकार बनाएका छौँ । स्थायित्वको आभास दिएका छौं । हामी समाजवादका आधारहरू तयार गर्दे अगाडि जानुपर्ने छ । त्यो भएको कारणले गर्दा पनि यो एकता भएको हो । पूर्वएमाले कोणको कुरा गर्ने हो भने उहाँहरूको कार्यनीति पनि बहुदलीय जनवादको कुरा जुन थियो, त्यो पनि पूरा भइसकेको स्थिति छ । उहाँहरू त्यो भन्दा अगाडि बढ्न पनि सक्नुभएन । पूर्वमाअ‍ोवादीको कुरा गर्ने हो भने माओवादीले उठाएका तत्कालिन मुद्दा जति हुन ति मुद्दालाई अहिलेसम्म आउँदा पूरा भए । हामीले भिन्न ढंगको जनवादी क्रान्ति सम्पन्न भएको छ भनेका छौँ हामीले । हामी अगाडि बढ्दै गर्दा नयाँ कार्यदिशा चाहिएको छ । नयाँ विचार चाहिएको छ । त्यही ढंगको संगठन चाहिएको छ । त्यही ढंगको परिचालन चाहिएको छ । त्यस कारणले गर्दा पार्टी एकता भएको हो । 

पार्टी एकतामा केही असन्ुतष्टिहरू देखिए । पार्टी एकता भनेको कुचो काटे जस्तो नहुने रहेछ । पार्टी एकता प्रक्रियामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरूले असन्तुष्टि देखाउनु भयो, उहाँहरूले उठाउनुभएको कुरा पनि आफ्नो ठाउँमा ठिक नै थियो । यो कुरा सही हो कि अहिले पार्टीमा मनोनित गर्ने जुन विधि बसेको छ, त्यसले केही असन्तुष्टि पक्कै पोखेको छ । पार्टीमा कहिँ न कहिँ २० को १९ भएको छ । तर, यसमा नेताहरुले नै असन्तुष्ट बाहिरी रूपमा प्रकट गर्नु हुँदैनथ्यो, जसको जे असन्तुष्टि भए पनि पार्टीभित्र राख्नुपर्छ  । 

अहिलेको एकता प्रक्रियाको असन्तुष्टि जुन छ, भनेजस्तो कसैलाई पनि भएको छैन । पार्टी वरिष्ठ नेता माधव नेपालको कोणबाट भन्नुहुन्छ भने माओवादीको हिसावले हेर्दा सबै खुसी छैनन् । सन्तुष्ट सबै हुन सकेका छैनन् । स्वयं ओली र प्रचण्ड पनि नहोलान् नि ! असन्तुष्टि देखाए यो एकतालाई हल्ट गर्न मिल्दैन । पार्टीभित्र सबै मिल्ने र मिलाउने विधि भनेको वैज्ञानिक विधि हो । संगठनात्मक सिद्धान्त होस्, एउटा विधि होस्, प्रणाली होस् । यसमा टेकेर हामी अगाडि बढ्नुपर्छ । महाधिवेशन आउँदासम्म यस विषयले ठाउँ पाउला । हामी नयाँ युगमा प्रवेश गर्देछौं, यसलाई हामीले मुख्य सन्तुष्टिका रूपमा लिनुपर्छ । मिसन पूरा गर्न हामीले त्याग गरेर अगाडि बढ्नुको विकल्प छैन । 

नेपालको कम्युनिस्ट पार्टीप्रति जनताको आशा पछिल्लो समय बढेको छ । अब नेपाललाई रूपान्तरण गर्ने, समृद्धितर्फ लैजानेभन्ने छ । दलाल पूँजीवादलाई हामीले ध्वस्त नपारिकन हाम्रो उद्देश्य पूरा गर्न सक्दैनौं । यहाँ जतिसुकै उत्पादन गर्नुस्, जतिसुकै दुःख गर्नुस्, नेपालमा जरा गाडेको दलाल पूँजीवादलाई हामीले ध्वस्त नपारिकन, यसको अन्त्य नगरिकन हामी ठिक ठाउँमा पुग्न सक्दैनौं । दलाल पूँजीवादलाई खारेज गर्ने अथवा निरुत्साहित गर्ने नेतृत्व कसले गर्ने ? यो प्रश्नको सहज उत्तर हो कम्युनिस्टले । 



हिमाल शर्मा अहिलेको सरकारको कामकारबाहीको कुरा गर्ने हो भने मान्छेले के गरेको हो भन्ने भान परेको छ । तर पनि फाउण्डेशनहरू तयार भएका छन्, कानूनहरू निर्माण भएका छन् । मुलुक कानूनी रूपमा नै संघीयतामा गएको छ । नयाँ संरचनाहरू छन् । सरकारले एक वर्षमा गरेका कामहरू यस्तै विषय हुन् । अहिले विकासका लागि आधार तयार गर्ने कामहरू भएका छन् । अबको आर्थिक वर्षदेखि, अबको बजेटदेखि बजेटमा जनताका आकांक्षाहरू छन्, अबको बजेटमा मुखरित भएर आउँछ भन्नेमा विश्वस्त हुन सकिन्छ । त्यसपछि सरकारका गतिविधिहरू पनि विस्तारै बढ्दै जान्छ । २÷३ महिनाभित्रमा पार्टीको कमिटीमा पनि सुधार आउँछ । पूर्ण रूपमा एकता प्रक्रिया हुन्छ । त्यसपछि नयाँ आशा र तरंग ल्याउँछ । 

अब पार्टीलाई हामीले दीगो बनाउनु पर्छ । टुटफुट नहोस् भनेर संकल्प गर्नुपर्छ । दीगो बनाउन एउटा विधि, प्रक्रिया तयार गर्नुपर्छ पार्टीमा । पार्टीमा अल्पमत र बहुमत पनि होइन, सधैं मनोनित गर्ने प्रक्रियाबाट पनि होइन । संगठनलाई जनतासँग जोड्ने खालको योजना ल्याउनुपर्छ । कार्यकर्ताहरूलाई कामको जिम्मेवारी दिने, उनीहरूको अपनत्व कसरी कायम गर्न सकिन्छ, कसरी उनीहरूको स्वाभिमानलाई उँचो राख्न सकिन्छ भन्ने खालको चैं हामीले संगठानात्मक रूपमा विकास गरेर अघि बढ्नुपर्छ । महाधिवेशनसम्म आउँदा यो छलफलको विषयवस्तु बन्नुपर्छ । एउटा विधिले पार्टी सञ्चालन गर्न लागियो भने छुटफुटका कुराहरू आउँछ । मलाई कसैले काखी च्याप्यो, कसैलाई बाहिर राख्यो भन्ने स्वरहरू न्युनिकरण हुँदै जान्छ । मुख्य त विचारको कुरा हो । हामीले जुन उद्देश्यले एकता गरेका छौं त्यो विचारलाई हामीले अहिले कायम गरिएका विचारभन्दा अबको नेपालको सापेक्षातामा त्यसलाई अपडेट गरेर लैजानुपर्छ । अपडेट गर्नुपर्ने हुन्छ । अगाडि बढ्नुपर्ने हुन्छ । विकास गर्नुपर्ने हुन्छ । विचारलाई विकास गर्ने, कार्यदिशा विकास गर्ने भयो भने टुटफुटको कुरो आउँदैन । नयाँ सम्झावना, नयाँ आशा सधैँभर नेतृत्वले देखाउनुपर्छ । हामी त्यो ठाउँमा पुग्नसक्नुपर्छ । हामी बलियो भएर अगाडि बढ्नुपर्छ । 



पार्टीमा युवाहरूको कुरा गर्ने हो भने पार्टीमा युवाहरूको भूमिका महत्त्वपूर्ण छ । हुनु पनि पर्छ । नेतृत्वले युवा शक्तिलाई स्थान पनि दिनुपर्छ । युवाहरूले बाहिर बसेर केही गर्न त सक्दैनन् । नीतिनियम गर्ने ठाउँमा युवाहरू नपुग्ने बाहिर कराएर मात्रै केही हुनेवाला छैन । जतिबेला हामीले सडकबाट संघर्ष गरेर हाम्रा आवाजहरू बुलन्द गथ्र्यौ, राज्यले सुन्दैनथ्यो । त्यतिबेला दलका विचार र विषय सुनिँदैनथ्यो । हामीले के गर्ने भन्ने कुरा सडकमा गएर सुनाउनु पर्ने हुन्थ्यो । अब त्यो स्थिति छैन । अब हामी युवाहरू नीति निर्माणको तहमा पुग्नुपर्छ । चाहे त्यो राज्यको नेतृत्व लिन होस् या चाहे त्यो पार्टी नेतृत्व कमिटीमा किन नहोस् । हामी नीति नियम निमार्ण गर्ने ठाउँसम्म युवाहरूलाई पु¥याउनुपर्छ । यो विषयमा नेताहरूले मन खुम्च्याउनु हुन्न । हामीले अब पार्टीलाई कसरी एकताबद्ध गराएर लैजान सकिन्छ भन्नेमा पनि पार्टीभित्र युवाको भूमिका प्रभावकारी बनाउनुपर्छ । 

सरकारको कुरा गर्नुपर्दा अघिल्लो बजेटमा पार्टीको घोषणापत्र अनुसार मुखरित भएन जस्तो लाग्यो । सरकारकै नीति र कार्यक्रम राम्रोसँग पछ्याउन सकेको जस्तो लागेन । यसको अन्र्तविरोध अहिले देखिन आएको हो । अहिलेको अर्थमन्त्री विज्ञ हुनुहुन्छ । उहाँले कसरी हुन्छ नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ, खोक्रो भएको अर्थतन्त्रलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने कुरामा त उहाँ लाग्नु भएको छ । यसलाई हामीले अन्यथा लिन हुँदैन । तर पनि पार्टीको निर्वाचन घोषणापत्र  र सरकारको नीति तथा कार्यक्रमका विचमा फरक देखियो । घोषणापत्र अनुसार नीति तथा कार्यक्रम बनाउनुप¥यो । नीति तथा कार्यक्रम अनुसार बजेट बन्नुपर्छ । यसमा अन्र्तविरोध भएका कारण केही समस्याहरू उत्पन्न भएका थिए । अब त्यस्तो हुँदैन । अब हामी यसमा छलफल गर्दै छौँ । र, सरकारका कामकारबाहीलाई जनताले सुक्ष्म रूपमा नियालीरहेका छन् । सकारले धेरै बोल्नेभन्दा पनि व्यवहारमा देखाउनुपर्छ । बोलेरभन्दा व्यवहारले जवाफ दिनुपर्छ । 

(शर्मा नेकपाका केन्द्रीय सदस्य हुन् ।)

  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार १४:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया