पछिल्लो समय नेपाली चियाले विश्व बजारमा छुट्टै पहिचान बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाको माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन् । अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा नेपालले चिया निर्यातबाट अर्बौं रकम भित्र्याउँदै आएको छ । तर, जति नेपाली चियाको विश्व बजारमा सम्भावना छ, त्यसको सदुपयोग गर्न सकिएको छैन । नेपालमा चिया उत्पादन र निर्यातको प्रचुर सम्भावना भए पनि नेपाली चिया अर्कैको नाममा विश्वबजारमा जाने गरेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौंमा चिया प्रतिस्पर्धा अर्थात् ‘नेपाल टी च्यालेञ्ज २०२४’ आयोजना भएको छ । काठमाडौंका ठमेलस्थित छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा भएको हो ।
चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरूको संस्था टी–स्टेसन इन्कको आयोजनामा भइरहेको प्रतिस्पर्धामा देशभरका चिया उत्पादक कम्पनी एवं कारखानाले भाग लिएका थिए । प्रतिस्पर्धामा मुख्यगरी दुईवटा विधा निर्धारण गरिएको थियो– साधारण अर्थोडक्स चिया र विशिष्ट अर्थोडक्स चिया । यी दुई विधाका चारवटा चियाका प्रकारमा ह्वाइट टी, ग्रिन टी, ब्ल्याक टी र ओलङ टी बीच प्रतिस्पर्धा गराइएको थियो ।
प्रतिस्पर्धामा सामेल सबै चियालाई विभिन्न देशबाट निमन्त्रणा गरिएका निर्णायकको मण्डलबाट स्वाद परीक्षण गरेर मूल्यांकन गरिएको टी–स्टेसन इन्कोले जनाएको छ । निर्णायक मण्डलबाट एकजना निर्णायकलाई दुवै विधाका चार प्रकारका चियामध्ये कुनै एक प्रकारको चियाको मूल्यांकन गर्न दिइएको थियो । तोकिएका सबै विधाका विजेता एवं उपविजेतालाई आधिकारिक निकायका अधिकारीले स्वीकृत गरेको प्रमाणपत्र र पुरस्कार उपलब्ध गराइएको छ ।
नेपाली चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतले वृद्धि भइरहेको देखिन्छ । मार्केट रिसर्ज डटकमको सर्भेअनुसार सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक दर ५ देखि ८ प्रतिशतले ओरालो लाग्ने तथ्य बाहिर आएको छ । यस अवस्थामा आन्तरिक र बाह्य बजारमा नेपाली चियाको विश्वसनीयता वृद्धि गर्न च्यालेन्जको आयोजना गरेको टी स्टेसनका अध्यक्ष प्रज्वल प्रधानले बताए । उनका अनुसार नेपाली अर्थोडक्स चियाको समृद्ध विविधतालाई चिनाउन कार्यक्रमको आयोजना गरिएको हो ।
टी स्टेसनले चार वर्षअघि इलाममा इलाम टी च्यालेन्ज २०२० आयोजना गरेको थियो । काठमाडौंका मानिसको चासो आकर्षित गर्न, चियालाई मुख्य पेयको रूपमा बुझ्नका लागि बहुआयामिक अवसर प्रदान गर्न काठमाडौंमा चिया च्यालेन्जको आयोजना गरेको उनको भनाइ छ ।
चियाबाटै विश्वमा नेपाल चिनाउँदै शरद
‘नेपाल टी च्यालेञ्ज २०२४’ को ‘बेस्ट टी मेकर’ इलामको जस्विरेमा सञ्चालित जस्विरे चिया प्रशोधन केन्द्रका सञ्चालक शरद सुब्बा भएका छन् । उनी काठमाडौंमा भएको ‘नेपाल टी च्यालेञ्ज २०२४’बाट ‘बेस्ट टी मेकर’ घोषित भएका हुन् ।
यस्तै, जस्विरे चिया प्रशोधन केन्द्रबाट उत्पादित ह्वाइट तथा गोल्डेन टी पनि उत्कृष्ट बन्न सफल भयो । चियाप्रतिको निरन्तर लगाव र झुकावकै कारण मोफसलमा बसेर पनि उनी ‘बेस्ट टी मेकर’ घोषित भएका हुन् । इलाम नगरपालिका ४ मा घर भएका उनले ‘बेस्ट टी मेकर’ घोषित हुन पाउँदा निकै खुसी र गर्व लागेको बताए । ‘यो अवार्ड पाउँदा निकै खुसी छु,’ उनी भन्छन्, ‘यो अवार्डले गर्दा अझ कामप्रति प्रेरणा मिलेको छ । कामप्रति दत्तचित्त भएर निरन्तर लागिरहनेछु ।’
चिया खेती उनीहरूको पुर्ख्यौली पेसा हो । चिया खेती उनका बुबाले सुरु गरेका थिए । पछि सबै छोरा मिलेर चिया व्यवसायलाई अघि बढाएको उनी बताउँछन् । ‘चिया खेती गर्न थालेको ३५ वर्षभन्दा बढी भइसक्यो,’ उनी भन्छन्, ‘हाम्रो बुबाले पहिलादेखि नै अर्गानिक चिया खेती गर्दै आउनुभएको थियो । हामी चारजना दाजुभाइ छौँ । चारजना दाजुभाइ मिलेर संयुक्त रूपमा चिया खेती विस्तार गरेका छौँ ।’
उनीहरूले अहिले ५० रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । उनीहरू आफ्नै चिया प्रशोधन उद्योग पनि छ । आफ्नोसँगै १२३ जना किसानको चिया खरिद गरेर चिया प्रशोधन गर्दै आएको पनि शरद बताउँछन् ।
जसविरे क्षेत्रको चिया संसारकै उत्कृष्ट ‘ग्रिन टी’का रूपमा लिइन्छ । उनको उद्योगले ग्रिन टी, अर्थोडक्स, ह्वाइट तथा गोल्डेन टी उत्पादन गर्दछ । यस क्षेत्रमा रहेका चिया प्रशोधन उद्योगमध्ये जस्विरे टी प्रशोधन उद्योगबाट उत्पादन भएका स्पेसल ग्रिन टी अमेरिका, फ्रान्स, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, जापन, चीनजस्ता देशमा समेत निर्यात गरिन्छ ।
नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । त्यसैले पनि बजारको खासै समस्या नरहेको उनको भनाइ छ । ‘यहाँबाट उत्पादन भएको चिया धेरैजसो आन्तरिक बजारमा नै खपत हुन्छ । अन्तर्राष्ट्रिय बजारमा पनि धेरै बिक्री हुन्छ । अझै हामीले बजारको माग धान्न सकिरहेका छैनौँ । हामी अर्गानिक चिया उत्पादन गर्छौं । त्यसैले बजारको कुनै समस्या छैन,’ उनी भन्छन् ।
उनका अनुसार रासायनिक पदार्थलाई पूर्णतः विस्थापित गर्दै अर्गानिक चिया उत्पादन गर्ने हो भने बजारको कुनै समस्या छैन । पछिल्लो समय विश्व बजारमा अर्गानिक चियाको माग बढ्दै गएको छ । विश्व बजारमा दिन प्रतिदिन अर्गानिक चियाको माग बढेसँगै उनीहरूले चियाको उचित मूल्यसमेत पाउने गरेका छन् । तर, अर्गानिक चिया उत्पादन गर्न त्यति सजिलो भने छैन । ‘अर्गानिक चिया उत्पादन गर्न सोचेजस्तो सजिलो छैन,’ उनी भन्छन्, ‘अर्गानिकतामा जाँदा उत्पादन कम हुने हुँदा कृषकहरूमा व्यवसायिकताको चुनौती छ । तर, मूल्य र खपतका हिसाबले राम्रो छ । त्यसैले हामीले अर्गानिक खेतीलाई नै जोड दिएका छौँ ।’
जस्विरे टी उद्योग इलामको मात्र नभएर नेपालकै उदाहरणीय उद्योग भएको उनको भनाइ छ । यो उद्योगलाइ सेरेस जिएमबिएच जर्मनीले अर्गानिक टी उत्पादकको प्रमाण पत्र पनि प्रदान गरेको छ । ‘हाम्रो उद्योगको उत्पादनको माग विदेशमा बढी रहेको छ’ उनी भन्छन्, ‘हामीले बजारको माग धान्न सकिरहेका छैनौँ । कामदार नपाउने, प्रांग्ररिक मललगायत समस्या धेरै छन् । जसले गर्दा बजारको मागअनुसार चिया उत्पादन गरेर बिक्री गर्न सकिरहेका छैनौँ ।’
पछिल्लो समय चिया, साग सब्जी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुमा प्रयोग गरिने विषादी नै आज क्यान्सर र अन्य धेरै रोगको कारक तत्त्व बनिरहेको छ । त्यसैले नेपालका सबै कृषिजन्य उत्पादन नै अर्गानिक बनाउने रणनीति अघि सारिरहँदा जस्विरे टी प्रशोधन उद्योगले पनि अर्गानिक चिया उत्पादन गर्दै आएको उनी बताउँछन् ।
चिया निर्यातको अवस्था
अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाको माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन् । अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा नेपालले चिया निर्यात गर्दै आएको छ । नेपालमा उत्पादन भएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ । पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ३ अर्ब ६१ करोडको चिया निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३ अर्ब ९३ करोडको चिया निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ३ अर्ब ४२ करोडको निर्यात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पछिल्लो समय चियाको निर्यात घढ्दो क्रममा छ ।
सिटिसी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्स भारतसहित अमेरिका, फ्रान्स, जर्मनलगायत मुलुकमा निर्यात हुन्छ । सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडेक्स चिया नेपाली उद्योगीमार्फत विदेश निर्यात हुन्छ । पहाडी क्षेत्रमा अर्थोडक्स चिया हुन्छ ।
पछिल्लो समय स्पेसल किसिमको चियामा लागतअनुसार मूल्य नपाउँदा उत्पादकले चिया बिक्री नगरी मौज्दात राख्दा निर्यातमा कमी आएको छ । भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र विश्व बजारमा महँगो मूल्यमा बिक्री गरिरहेको छ । उत्पादन राम्रो भएको भए पनि अपेक्षित रूपमा बजार प्राप्त गर्न सकेको छैन ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा १४ हजार ७३२ चिया बगान छ । झापा र इलाम सबैभन्दा बढी चिया उत्पादन गर्ने जिल्ला हो । तर, चिया किसानलाई सरकारको सहुलियत दरको ऋण उपलब्ध छैन । चिया क्षेत्र सुधारका लागि ऋण नपाउँदा कतिपय किसानहरू विस्थापित हुँदै गएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।