logo-img

यी पाँच नेपाली खेलाडी, जो एनपिएलमा कप्तान बन्न सक्छन्

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको मिति घोषणा भइसकेको छ, जसअनुसार लिग आउँदो १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा आयोजना हुनेछ । पहिलो सिजनमा ८ टिमको सहभागिता हुनेछ ।

क्यानले टिमको नाम पनि घोषणा गरिसकेको छ, जसअनुसार पहिलो सिजनको एनपिएलमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, काठमाडौं, जनकपुर, पोखरा, चितवन र विराटनगरको टिमले प्रतिस्पर्धा गर्ने छन् ।

टिमको संख्या र नाम टुंगो लागे पनि कप्तान चयन हुन भने बाँकी नै छन् । क्यान हाल एनपिएलमा खेलाडी अनुबन्धको प्रक्रियाबारे गृहकार्य गरिरहेको छ । कप्तान पनि अक्सनबाट अनुबन्ध भएका खेलाडीमध्येबाट चयन गर्ने वा अक्सनअघि नै त्यो जिम्मेवारीको खेलाडीलाई टिमहरूले भित्र्याउन दिने भन्नेबारेमा क्यानले तयारी गरिरहेको हो । 



एनपिएलमा कप्तान बन्न सक्ने पाँच नेपाली खेलाडी

सन्दीप लामिछाने 



आसन्न संस्करणको एनपिएलमा कप्तानको जिम्मेवारी पाउन सक्ने सर्वाधिक सम्भावना बोकेका खेलाडी हुन्, स्पिनर सन्दीप लामिछाने । उनलाई अनुबन्धका लागि टिमहरूबीच कडा टक्कर हुने देखिन्छ । सन्दीपले टिम कप्तानको जिम्मेवारी पाउने सम्भावना पनि बलियो छ ।



उनले विश्वका चर्चित लिगमा खेलिसकेको अनुभव हासिलका साथै नेपाली टिमको कप्तानी पनि सम्हालिसकेका छन् । र, सन्दीप प्रायः लयमै रहन्छन् । टिमका मुख्य प्रशिक्षक र मालिक निरन्तर उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडी कप्तान बुनून् भन्ने चाहन्छन् । र, सन्दीपमा त्यो क्षमता छ । यस्तो अवस्थामा उनलाई एनपिएलमा कप्तानको भूमिकामा देख्न पाइने सम्भावना उच्च छ । 

रोहितकुमार पौडेल

एनपिएलमा कप्तान बन्न सक्ने अर्का खेलाडी हुन्, रोहितकुमार पौडेल । उनले २०२२ देखि दुवै फर्म्याटमा नेपाली टिमको कप्तानी गरिरहेका छन् । रोहितको कप्तानीमा नेपालले केही महत्वपूर्ण उपलब्धि पनि हासिल गरिसकेको छ ।

साथै, उनले घरेलु मैदानमा राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । रोहितसँग यू–१९ क्रिकेटदेखि नै कप्तानी गरेको अनुभव छ । यस्तै, उनले ठूल–ठूला टिमविरुद्ध पनि नेपालको कप्तानी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । र, रोहित अब कप्तानको भूमिकामा पनि परिपक्व देखिँदै आएका छन् ।

घरेलु क्रिकेटमा उनले केही समययता एपिएफको कप्तानी सम्हालिरहेका छन् । र, रोहितले कप्तानीका साथै घरेलु मैदानमा व्यक्तिगत प्रदर्शन पनि राम्रो गरेका छन् । उनले अब एनपिएलमा पनि कप्तानको जिम्मेवारी पाउने सम्भावना छ । 

दीपेन्द्र सिंह ऐरी

एनपिएलमा कप्तानको भूमिका पाउन सक्ने अर्का खेलाडी हुन्, स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी । उनले पनि नेपालका लागि यू–१९ क्रिकेटमा कप्तानी गरिसकेका छन् । साथै, उनले रोहितको अनुपस्थितिमा नेपालको केही खेलमा कप्तानको भूमिका निर्वाह गरेका छन् ।

यस्तै, दीपेन्द्रले नेपाल टी–२० लिगको डेब्यू सिजनमै आफ्नो कप्तानीमा लुम्बिनी अल स्टार्सलाई च्याम्पियनसमेत बनाइसकेका छन् । साथै, उनले विभिन्न घरेलु प्रतियोगितामा पनि कप्तानी सम्हालिसकेका छन् ।

उनको नेतृत्वमा टिमले उपाधि पनि जितिसकेको विगत छ । साथै, दीपेन्द्रले टी–२० मा प्रायः राम्रो प्रदर्शन गर्दै आएका छन् । र, विदेशी लिगसमेत खेलिसकेकाले उनमा रणनीति बनाउने खुबी पनि विकास भइसकेको छ । यस्तो अवस्थामा पक्कै पनि टिमले उनलाई कप्तानको जिम्मेवारी दिन सक्छ । 

सोमपाल कामी

एनपिएलको पहिलो सिजनमा कप्तान बन्न सक्ने अर्का विकल्प हुन्, सोमपाल कामी । उनले नेपालका लागि लामो समयदेखि निरन्तर खेलिरहेका छन् । सोमपालले राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । उनले कयौँ कप्तानको अन्डरमा खेलिसकेका छन्, जसले गर्दा सोमपाललाई कस्तो कप्तानी गर्नुपर्छ वा कप्तानमा हुनुपर्ने गुण के कस्ता हुन्छन् भन्ने कुरा थाहा छ ।

साथै, उनले विगतमा घरेलु क्रिकेटमा केही टिमको कप्तानी पनि सम्हालिसकेका छन् । सबै खेलाडीको मनोभावना बुझ्न सक्ने सोमपालले एनपिएलमा पनि कप्तानको जिम्मेवारी पाउन सक्छन् ।

देव खनाल

पहिलो सिजनको एनपिएलमा कप्तानको भूमिकामा युवा क्रिकेटर देव खनाललाई पनि देख्न पाइने सम्भावना छ । उनले नेपालका लागि यू–१९ क्रिकेटमा राम्रो कप्तानीका साथै व्यक्तिगतरूपमा उत्कृष्ट प्रदर्शन पनि गरेका छन् । 

यस्तै, देवले घरेलु क्रिकेटमा लामो समयदेखि लुम्बिनी प्रदेशको कप्तानी सम्हालिरहेका छन् । एनपिएलमा पनि लुम्बिनीको टिम हुनेछ । यस्तो अवस्थामा उनले टिम कप्तानको जिम्मेवारी पाउन सक्छन् ।

धैरैले देवलाई भविष्यमा नेपाली टिमको कप्तान बन्न सक्ने सक्ने सम्भावना देखेका छन् । र, उनमा कप्तानमा हुनुपर्ने गुण पनि छन् । उनमा निर्धक्क कुरा राख्ने क्षमता छ ।

साथै, देवको ब्याटिङशैली पनि आकर्षक छ । र, उनलाई टिमहरूले कप्तानको जिम्मेवारी दिएर दीर्घकालीन योजना बनाउन सक्छन् । पहिलो सिजनको एनपिएलमा तीन टिमले भने विदेशी खेलाडीलाई कप्तान बनाउने सम्भावना छ । 

  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया