प्रचण्डलाई राजपा–फोरमको चुनौती : संविधानको कुन धाराअनुसार सरकार बनाउनुहुन्छ ? कि ३२ जनाले नै सरकार बनाउने हो ?’

धनुषा– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश २ मा नेकपाको सरकार बनाएर देखाउन राजपा र संघीय समाजवादी फोरमले चुनौती दिएका छन् । केही दिनअघि प्रचण्डले केही चलखेल गरियो भने प्रदेश २ मा नेकपाको सरकार गठन गर्न सकिने बताएका थिए ।

फोरम नेपालका नेता अमर यादवलगायतलाई नेकपा प्रवेश गराउने कार्यक्रममा प्रचण्डले प्रदेश २ को सरकार जनताको हितमा नभएको भन्दै नेकपाको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आउने सक्ने बताएका थिए ।

राजपा र फोरम दुवै दलका नेताले प्रचण्डको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका छन् । प्रचण्डको अभिव्यक्ति निराधार भएको दाबी गर्दै प्रदेश २ का भौतिक योजनामन्त्री जितेन्द्र सोनलले भने, ‘जतिसुकै भने पनि यो सरकारमा कुनै आँच आउँदैन । मज्जाले चल्छ ।’

सरकार सडकबाट नभई सदनबाट बन्ने बताउँदै राजपाका महासचिव समेत रहेका मन्त्री सोनलले बहुमत पुर्याएर सरकार बनाउन प्रचण्डलाई चुनौती दिए । उनले प्रचण्डलाई प्रश्न गरे, ‘संविधानको कुन धाराअनुसार सरकार बनाउनुहुन्छ ? कि ३२ जनाले नै सरकार बनाउने हो ?’

यसअघि नेकपाका नेता माधवकुमार नेपालले पनि यस्तै अभिव्यक्ति दिएको भन्दै उनले अहिले प्रचण्डले पनि कार्यकर्तामा आएको विचलनलाई बुझेर उनीहरूलाई धैर्यधारण गराउन यस्तो अभिव्यक्ति दिएको बताए । 

तयसैगरी, फोरम नेपालका तर्फबाट प्रदेशमा भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री बनेका शैलेन्द्र साहले कसैले भाषण गर्दैमा सरकार परिवर्तन नहुने बताए । राजपा र फोरमबीच सहमति हुँदासम्म सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको उनको तर्क थियो । 



केन्द्र सरकारमा नेकपासँग मिलेर सरकार बनाए पनि प्रदेशमा राजपासँग मिलेर नै सरकार चलाउने भन्दै उनले दुई पार्टीको गठबन्धनको सरकारले नै निरन्तरता दिने बताए । कसैले भाषण गर्दैमा केही नहुने उनको स्पष्टोक्ति थियो ।



  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार १३:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया