तेस्रो शक्तिको खोजी : सम्भव छ फोरम–राजपा–नयाँ शक्ति एकता ?

काठमाडौं– संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता गर्नका लागि गत महिनाको सुरुवातमै पत्र आदान–प्रदान भएको थियो । राजपासँग एकता गर्न फोरमले सक्रियता देखाए पनि राजपाको एउटा अडानले फोरम रोकियो । राजपाको सर्त थियो– फोरमले सरकार छाड्नुपर्ने । 

संविधान संशोधन, रेशम चौधरी प्रकरणलगायत आधा दर्जन विषयमा असहमति जनाउँदै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एकता गर्ने कुरामा दुवै पक्ष सहमत देखिए पनि फोरम र राजपाबीच उच्च तहमा वार्ता हुन नसकेको वार्ता टोलीका सदस्य राजेन्द्र महतो बताउँछन् । महतोले फरकधारलाई दिएको जानकारीअनुसार फोरम र राजपाबीच हाल पार्टी एकताको विषयमा कुरा भएको छैन । 

फोरमले राजपासँगको एकताभन्दा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँगको पार्टी एकतालाई जोड दिएको बुझिएको छ । फोरम–नयाँ शक्ति एकताका लागि दुवै पार्टीले निर्णायक तयारी गरिहेको बुझिएको छ । राजपाले जस्तै नयाँ शक्तिले पनि एकताका लागि फोरमले सरकार छाड्नुपर्ने सर्त अघि सारेको छ । फोरमले सरकार छोड्नुपर्ने सर्त मानेपछि नयाँ शक्तिसँग एकता हुन लागेको नयाँ शक्तिका एक नेताले जानकारी दिए । स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको दुई अध्यक्षात्मक प्रणाली अपनाउने गरी फोरम र नयाँ शक्तिबीच एकताको टुंगो लागेको बताइएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव अहिले सरकारका स्वास्थ्यमन्त्री छन् । फोरमले सरकार छाडे नयाँ शक्ति र राजपा दुवैसँग एकता गर्न बाटो खुल्छ । नयाँ शक्ति, फोरम, राजपा मिलेर तेस्रो शक्तिका रूपमा राजनीतिमा उदाउन उनीहरूको दाबी छ । तर, एकताअघि भनेजस्तो सजिलो हुने देखिँदैन ।  पदीय भागबन्डाले यसलाई असफल गर्न पार्न सक्ने कतिपय विश्लेषक बताउँछन् । 

केही महिनाअघिदेखि नयाँ शक्तिले वैकल्पिक शक्तिहरूसँग पार्टी एकता अभियान चलाउँदै आएको छ । पाँच महिना, पाँच काम, पाँच परिणाम भन्ने अभियान नयाँ शक्तिको हो । यसलाई नयाँ शक्तिले पाँच महिनाभित्र गरिसक्ने भनेर समय समेत निर्धारण गरेको छ । 

पाँच काममध्ये एउटा काम एकीकरणको काम हो । यो अभियानलाई नयाँ शक्तिले प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ । यसै एजेन्डाअन्तर्गत नयाँ शक्तिले संघीय समाजवादी फोरम, अरू राजनीतिक पार्टी र स्वतन्त्र व्यक्तित्वहरूसँग पनि भेटघाट गर्दै आएको छ  । त्यसै छलफलको परिणामस्वरुप फोरम र नयाँ शक्तिबीचको एकता अन्तिम चरणमा पुगेको बताइन्छ । 



नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन पनि सार्ने तयारी गरिरहेको फोरम नेपाल पार्टी कार्यालय स्रोतले जनाएको छ ।  फोरमले वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने भनेर मिति र स्थान तय गरेको थियो । 

एकता प्रक्रियालाई आधिकारिता दिनका लागि नयाँ शक्तिले वैशाख २० गते सचिवालयको बैठक र २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यस्तै, राजपाको सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ शक्तिसँग पार्टी एकता गर्न सहमति भएको थियो । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नयाँ शक्तिसँग एकीकरणका लागि अनौपचारिक छलफल भएको जानकारी गराए थिए । 



यी तीन पार्टीको एकता प्रक्रियालाई तेस्रो शक्तिको सम्भावनाको खोजीका रूपमा चित्रण गर्छन्, मधेस मामिलाविज्ञ काशिन्द्रप्रसाद यादव । उनले यी पार्टीहरूले राजनीतिमा कुनै पनि स्पेस नपाएका कारण उनीहरूले एकता गर्न लागेको टिप्पणी गरे । 

‘सम्भावना तेस्रो शक्तिकै खोजी हो । यिनीहरूको चरित्र जुन रूपमा स्थापित भयो, त्यहाँ सत्ताको राजनीति एक्लाएक्लै टिक्न गाह्रो भयो, उनले भने, ‘त्यस हिसाबले आउने दिनमा यिनीहरूले चुनावी राजनीति प्रतिपस्र्धाका लागि पनि एउटा मोर्चा निर्माण गर्नुपर्नेछ ।’ उपेन्द्र यादव र बाबुरामका आ–आफ्नै समस्या र दायरा रहेको यादव बताउँछन् । 

उनले चुनावी राजनीतिमा यी तीनै पार्टी असक्षम रहेको बताए । तेस्रो मोर्चा, तेस्रो विकल्प निर्माण गर्नुभन्दा पनि शक्तिको रूपमा आफू कसरी स्थापित हुने भन्ने सोचमा यी पार्टी केन्द्रित रहेको उनको ठम्याइ छ । 


  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार १७:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया