logo-img

नेपाल प्रहरी : विनाअनुमति नेता तथा शक्तिकेन्द्रसँग भेटघाट गरेमा हदैसम्मकाे कारबाही गरिने

प्रहरी प्रधान कार्यालयले तालुक कार्यालयको स्वीकृतिबेगर कसैले अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको छ । आइतबार आन्तरिक परिपत्र जारी गर्दै शक्तिकेन्द्रसँगकाे भेटघाटमा कडाइ गरेकाे हाे । 

सरुवा–बढुवाका लागि नेता तथा शक्तिकेन्द्र धाउने प्रवृत्ति बढेपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्र जारी गरेकाे हाे । उक्त परिपत्र उल्लंघन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी दिएको छ ।

सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरूले मन्त्री, प्रशासक, सांसद, राजनीतिक दलका नेता\कार्यकर्ता, व्यापारीलगायत विभिन्न शक्ति केन्द्रबाट प्रहरी प्रधान कार्यालयमा दबाब दिएपछि यो परिपत्र जारी भएको हो ।

प्रहरी प्रधान कार्यालयले देशभरका मातहत युनिटमा गरेको आन्तरिक परिपत्रमा भनिएको छ,‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्तिकेन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्वस्वीकृति लिएर गरिने सम्पर्कबाहेक संगठनको मूल्यमा व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने अशोभनीय भेटघाट, साङ्गठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनै पनि गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनै पनि प्रहरी कर्मचारी संलग्न रहेभएको पाइएमा त्यसलाई नै प्रमाणका रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने हुँदा सो व्यहोरा गम्भीरतापूर्वक हृदयंगम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाइ सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’

परिपत्रमा सांगठनिक मूल्य मान्यता एवं आदेशको शृंखलालाई बेवास्ता गरी विभिन्न शक्तिकेन्द्र तथा व्यक्तिलाई भेट गर्दै हिँड्ने तथा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्ने कार्यमा संलग्न हुँदा सांगठनिक अनुशासनको क्रम भंगता भएको पनि उल्लेख छ ।





  • प्रकाशित मिति : भदौ २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया