भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विवाद दिनानुदिन चर्किंदै गइरहेको छ । पछिल्ला केही दिनयता केन्द्रमा भइरहेको बेथितिविरुद्ध स्थानीयबासीले निरन्तर विरोध जनाउँदै आइरहेका छन् । बुधबारदेखि गेटअगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए । यसअघि बुधबार अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुसी गरेको भन्दै आन्दोलन गरेका थिए ।
कार्यालयलाई बुझाएको पत्रमा भनिएको छ, ‘कलेजो प्रत्यारोपणसम्बन्धी उपचारमा पनि अर्बौं रुपैया खर्च भइसक्दा र सात वर्ष बितिसक्दा पनि शल्यक्रिया गर्नको लागि भारतबाट विज्ञ शल्य चिकित्सकहरूको टोली बोलाई मोटो रकम दिई गर्नुपर्ने बाध्यात्मक स्थितिको सिर्जना गरिएको छ । यस्ता बेथितिको यथाशक्य अन्त्य गराउनुहुन पनि ध्यानाकर्षण गराउन चाहन्छौँ र कतिपय अप्रेसन गर्न नपर्ने बिरामीहरूलाई पनि प्रत्यारोपण गर्न लगाउने आर्थिक चलखेलका लागि शल्यक्रिया गर्नपर्ने अवस्थाका जटिल बिरामीहरूलाई पनि यस केन्द्रमा शल्यक्रिया नगरी भारतका महँगा अस्पतालहरूमा चर्को कमिसन असुल गर्नका लागि पठाउने गरिएको सुनिएको पनि यसैपत्र मार्फत ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
शुक्रबार भने स्थानीयले अस्पतालको गेटअगाडि नै प्रदर्शन गरेका थिए । शनिबारको प्रदर्शनमा भने स्थानीयको उल्लेख्य सहभागिता थियो । शनिबार बिहानको प्रदर्शनमा स्थानीय संघ संस्था एवं गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरू पनि प्रदर्शनमा उत्रिए । केन्द्रका विरुद्ध स्थानीयले बारम्बार विरोध गरिरहँदा पनि सरकार भने मौन देखिएको छ ।
विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि हाल मुटुसम्बन्धी उपचार नभइरहेको र दैनिक दुई–देखि चारजना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको स्थानीय बताउँछन् ।
नागरिक समाजका अगुवा राजेन्द्र पुरी स्थानीयबासीको केही स्वार्थ नरहेको जिकिर गर्छन् । ‘हामीलाई केही चाहिएको होइन । मात्र अस्पतालभित्रको बेथितिको अन्त्य होस् भन्ने हो । अस्पतालमा भएका उपकरण प्रयोगमा ल्याइयोस् र मिर्गौला मात्र होइन, मुटु, फोक्सो, कलेजो सबैको उपचार सुविधा प्रदान गरियोस् भन्ने हो,’ उनले भने । यसका साथै पुरीले उपकरण थन्क्याएर राख्नुको पछाडि भ्रष्टाचारको आशंका रहेको र कार्यकारी प्रमुख नियुक्तिमा पनि ठूलै चलखेल भएको आशंका गर्छन् ।
विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि हाल मुटुसम्बन्धी उपचार नभइरहेको र दैनिक दुईदेखि चारजना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको आन्दोलनकारीले बताएका छन् ।
स्थानीयबासीका अनुसार केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौं रकम लगानी गरिसकेको छ । साथै वार्षिक करोडौँको रकम परिचालन भइरहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चका लागि मात्र भइरहेको छ । अस्पतालले मिर्गौलाको मात्र प्रत्यारोपण गरिरहेको, तर मानव अंगका अन्य शीर्षकमा आइरहेको बजेटमा अनियमितता भइरहेको स्थानीयले आशंका व्यक्त गरेका छन् ।
भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मिर्गौला फोक्सो तथा नसा सेवाहरूलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गर’लगायतको ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।
६० वर्ष उमेरहद नाघिसक्दा पनि मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए । कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरूको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ ।
संस्थालाई बदनाम गराउने खेल भयो : डा. श्रेष्ठ
विश्व अंगदान दिवसका अवसरमा साउन २९ गते मंगलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेपछि डा. श्रेष्ठको कार्यशैली र अस्पतालको प्रशासकीय व्यवस्थापनमाथि प्रश्न उठेको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा स्थानीयले कालो ब्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेपछि विवाद थप चर्किएको थियो ।
मन्त्री पौडेलको सचिवालयले उक्त घटनालाई सामान्य रूपमा लिन नसकिने बताएको छ । सोही दिन आन्दोलनकारीसँगको संवादमा मन्त्री पौडेलले गलत गर्ने जोसुकैलाई निलम्बन गर्न कुनै कठिनाइ नहुने दाबीसमेत गरेका थिए । तर, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने संस्थालाई बदनाम गराउनको लागि अराजक समूह लागिपरेको बताए ।
‘स्थानीयबासीको जुन आन्दोलन छ, त्यो हावादारी हो । उनीहरूले कुनै एक अराजक समूहबाट पैसा खाएर संस्थालाई बदनाम गरिरहेका छन्,’ कार्यकारी निर्देशक डा. श्रेष्ठ भन्छन्, ‘हामीले एकजना चिकित्सकलाई निकालेका थियौँ । कारण, ती चिकित्सकले अह्राएको काम नगर्ने, आफ्नो जिम्मेवारी बहन नगर्ने, अस्पतालमा अराजकता फैलाउने र स्टाफहरूलाई भाँड्ने काम गरे । उनकै पछि लागेर स्थानीयहरूले विरोध गरेका हुन् ।’
उनका अनुसार संस्थाको बदनाम गरिएको विषयमा अस्पतालको गम्भीर ध्यानकर्षण भएकाले कारबाही गरिपाऊँ भनेर प्रशासन कार्यालयमा उजुरी दिएका छौँ । साथै अस्पतालको कारबााहीमा परेका चिकित्सकलाई अदालतले पनि दोषी ठहर गरी कारबाहीका लागि प्रक्रिया अघि बढेको उनले जनाए ।
केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन लिङ्देनको माग
केन्द्रको व्यवहारलाई लिएर स्थानीयबासी आन्दोलित भएको यो पहिलोपटक होइन । यसभन्दा अगाडि पनि पटक–पटक केन्द्रलाई ताकेता गरेको स्थानीय बताउँछन् । स्थानीय र केन्द्रबीचमा किन दूरी बढीरहेको छ, यसतर्फ कसैको ध्यान पुगेको देखिँदैन । यहीबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले प्रत्यारोपण केन्द्रले निकै राम्रो काम गरिरहेको बताए । सरकारले जग्गा उपलब्ध गराउने हो भने ६ महिनामा तीन सय बेडको संरचना बनाउने र अहिले दिइराखेको सेवामा उल्लेख्य वृद्धि हुने केन्द्रको दाबी रहेको उनले सुनाए ।
त्यहीँनजिकै भक्तपुर इँटा टायल कारखानाको जग्गासमेत रहेको भन्दै लिङ्देनले भने, ‘यो संवेदना सबभन्दा बढी प्रधानमन्त्रीमा हुनुपर्छ । किनकि उहाँ अंग प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ । अरूको संवेदनालाई बुझेर कुनै तर्क नगरी प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दै छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।