मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५ औँ प्रधान सेनापतिमा आजदेखि अशोकराज सिग्देलले कार्यभार सम्हालेका छन् । आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । आजै राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सिग्देलले पद तथा गोपनियताको सपथ पनि लिएका छन् । अब सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमाण्ड गर्नेछन् ।
१२ भदौमा राष्ट्रपति पौडेलले सिग्देललाई नेपालको संविधानको धारा २६७ उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेका थिए । व्यक्तिगत नम्बर १६१४ का बलाधिकृत रथी सिग्देलाई राष्ट्रपति पौडेलले आज २४ भदौदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।
गत १५ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २५ साउनदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेसँगै उनलाई प्रमुख सुरक्षा संगठनको नेतृत्व गर्ने बाटो खुलेको थियो । सिग्देलले २५ साउनदेखि नै कायममुकायम प्रधानसेनापतिका रूपमा सेनाको कमाण्ड सम्हालेका थिए ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा २५ साउनदेखि बिदा बसेपछि सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको थियो । बहालवाला प्रधानसेनापति अवकाश हुनुभन्दा एक महिनाअघि घर बिदामा बस्ने प्रचलन छ । हिजो २३ भदौ राति १२ बजेपश्चात् शर्माको तीन वर्षको कार्यकाल सफलतापूर्वक पूरा भएको हो ।
नेपाली सेनाका अब्बल सिपाही
३७ वर्षको आफ्नो सैन्य जीवनमा सिग्देलले नेपाली सेनाभित्र शानदार परिचय बनाएका छन् । सेनाभित्र सिग्देललाई नेपाली सेनाको मेरुदण्ड र रणनीतिकार मानिन्छ । सिग्देलले आफूले पाएको हरेक जिम्मेवारीलाई अब्बल ढंगले सम्पन्न गर्दै आएका छन् । उनी सैन्य कूटनीतिसमेतका जानकार हुन् ।
शालीन, भद्र र अध्ययनशील तथा जुनसुकै प्रशिक्षणमा आफूलाई अब्बल अधिकृतका रूपमा प्रमाणित गर्दै आएका सिग्देल नेपाली सेनाको २५ बेसिक सैनिक अधिकृत हुन् । नेपाल र विदेशमा व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । सिग्देलको ‘मदर युनिट’ श्री देवीदत्त गण हो ।
सिग्देलले आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, नेपाल र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन् । नेपालको आर्मी वार कलेजमा हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स गरेका सिग्देलले नेपालबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
सिग्देलले काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कूलको कमाण्डेन्टको रूपमा काम गरेका छन् । उनले इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड गरेका छन् । यसका अतिरिक्त उनले सैन्य सञ्चालन निर्देशनालयको निर्देशक र कर्मचारी कर्तव्य, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गरिसकेका छन् ।
सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्याण्ड फोर्स टकका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरिसकेका छन् । कोभिड–१९ महामारी २०१९ को समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवको रूपमा उनको भूमिकाको अहिले पनि प्रशंसा हुने गरेको छ ।
पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता चुनौतीपूर्ण स्थानहरूमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सहभागी भइसकेका रथी सिग्देललाई कोभिड–१९ महामारी नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विभिन्न विशिष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकले सम्मानित गरिएको छ । उनले दुईपटक सिओएएस कम्पेण्डेसन ब्याज पनि पाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् ।
गुल्मपति, गणपति, बाहिनीपति र पृतनापतिका रूपमा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ । सेनाका अनुसार रथी सिग्देलले युद्धकार्य विभाग, निरीक्षण विभाग, कल्याणकारी निर्देशनालय, व्यवस्था, नीति तथा योजना विभाग, प्रबन्ध रथी, सम्भार रथी, विश्वशान्ति, मध्य तथा उपत्यका पृतना प्रमुख भएर काम गरिसकेका छन् । सिग्देल भारत, चीन र अमेरिकालाई राम्ररी बुझेका विशिष्ट सैनिक अधिकृत मानिन्छन् । सिग्देलले उच्चस्तरीय अध्ययन र प्रशिक्षण पनि तीनै मुलुकमा लिइसकेका छन् ।
उनी सैन्य अधिकृतका रूपमा सेनामा प्रवेश गरेर आफ्नो ब्याचमा उत्कृष्ट भएका थिए । मातहतलाई काममा सधैँ प्रोत्साहन गर्ने सिग्देल हरेक दृष्टिकोणले अब्बल जर्नेलका रूपमा परिचित छन् । सिग्देलले युद्धकार्य विभाग, निरीक्षण विभाग, कल्याणकारी निर्देशनालय, व्यवस्था, नीति तथा योजना विभाग, प्रबन्ध रथी, सम्भार रथी, मध्य तथा उपत्यका पृतना प्रमुख भएर काम गरिसकेका छन् ।
प्रधानसेनापति सिग्देलका अवसर र चुनौती
नेपाली सेनाभित्र अब्बल र व्यावसायिक छवि निर्माण गरेका र कुनै लप्पन–छप्पनमा विश्वास नगर्ने सिग्देललाई झण्डै एक लाख सैनिकको कमाण्डरका रूपमा २३ भदौ ०८४ सम्म तीन वर्ष संस्था हाँक्ने चुनौती र अवसर दुवै छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने रथी सिग्देल संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाएका छन् । सेनाभित्र शान्त, तर कडा स्वभावका भनेर चिनिने सिग्देल आफैँमा एक अब्बल सैनिक अधिकारी मानिन्छन् । ‘गाजलको कोठा’ पनि भनिइने नेपाली सेनाको नेतृत्वबाट दागरहित भएर निस्किने चुनौती पनि सिग्देललाई छ ।
सेनाभित्रको ‘चेन अफ कमाण्ड’को बेवास्ता गरेर राजनीतिक दलका नेताहरूको दैलोसम्म पुगेर आफ्नो व्यक्तिगत स्वार्थका लागि सेनालाई बदनाम गर्ने प्रवृत्ति मौलाउन थालेको छ । यसमा अंकुश लगाउने चुनौती सिग्देलसामु छ । हालसम्म कुनै विवादमा नपरेका सिग्देललाई मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनालाई भित्र र बाहिरका दूराशयपूर्ण चलखेलबाट जोगाउनुपर्ने अर्को चुनौती पनि छ । नातावाद, कृपावाद र भनसुनवादबाट व्यायसायिक निष्ठाका साथ कार्यरत सैनिक जवान तथा अधिकृतमाथि अन्याय हुनबाट रोक्ने जिम्मेवारी अब सिग्देलको काँधमा आएको छ ।
जंगी अड्डालाई बिचौलिया र कथित शक्तिकेन्द्रहरूको प्रभावबाट मुक्त राख्ने र सेनालाई कुनै पनि किसिमको आलोचनाबाट मुक्त गर्ने दायित्व पनि प्रधानसेनापतिको रूपमा सिग्देलको हो । संगठनलाई दाउमा राखेर सस्तो लोकप्रियताका लागि मिडियाबाजी गरेर व्यक्तिले जित्ने र संगठनले हार्ने प्रवृत्तिबाट सधैँ टाढा रहँदै आएका सिग्देलले आफ्नो यो स्वभावलाई निरन्तरता दिनुपर्नेछ ।
सिग्देलको कार्यकालमा पनि विगतमा जस्तै राजनीतिक तहबाट सेनालाई गिजोल्ने प्रयास नहोला भन्न सकिन्न । यसलाई चिरेर अघि बढ्दै सेनाको साख जोगाउने दायित्व पनि सिग्देलकै हातमा छ । सेनालाई अझै दक्ष र उत्तिकै व्यावसायिक बनाउने अवसर पनि छ । नागरिक–सैनिक सम्बन्धतिर दृष्टि पुर्याउनेतर्फ पनि सिग्देलले ध्यान पुर्याउनुपर्छ । सेनाले नागरिक सर्वोच्चताको सम्मान गरेर काम गर्न आवश्यक छ । सैनिक संख्यालाई ‘डाउन साइजिङ’ होइन, ‘राइट साइजिङ’ गर्नेतर्फ पनि सिग्देलले ध्यान पुर्याउनुपर्ने देखिन्छ ।
पछिल्लो समय विकसित भूराजनीतिक अवस्थाका विषयहरूमा नेपाली सेनाका कमाण्डर सिग्देलले निकै सतर्कतापूर्वक हेर्नुपर्ने चुनौती छ । सिग्देलले झण्डै ६० अर्ब रुपैयाँको सैनिक कल्याणकारी कोषलाई व्यापार र व्यवसायमा लगानी गर्नेतिर कम, सैनिक परिवारको हकहितका लागि विवेकपूर्ण प्रयोग गर्नु उपयुक्त हुन्छ । सिग्देलले यस्ता चुनौतीलाई पार गर्दै आफ्नो तीनवर्षे कार्यकाललाई गौरवपूर्ण बनाउन सक्छन् । किनकि, डर र लोभलाई जसले जित्छ उसलाई नै सफलता पर्खिरहेको हुन्छ ।
को हुन् प्रधानसेनापति सिग्देल ?
नेपाली सेनामा स्वच्छ छवि र व्यावसायिक अधिकृतको रूपमा हेरिएका प्रधानसेनापति सिग्देल भैरहवाको एक मध्यमवर्गीय परिवारबाट आएका हुन् ।
तनहुँको तिहुँ पुर्ख्यौली थलो भएका सिग्देलका पिता विश्वराज सिग्देल तौलिहवा हुँदै भैरहवा बसाइँ सरेका थिए । सिग्देलले काठमाडौं आएर फर्पिङ स्कुलमा हुँदै भैरहवा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । सेनाकै सुपिङ क्याम्पसमा उनले उच्चअध्ययन गरेका थिए ।
सिग्देलका बुवा विश्वराजको साल चैत २०४६ मा र आमा हरिप्रियाको चैत २०६८ मा निधन भइसकेको छ ।
उनका चार दाजुभाइमध्ये एकको निधन भइसकेको छ । उनका तीन दिदीबहिनी छन् । सिग्देलले काठमाडौं, चाबहिलकी नीता केसीसँग प्रेमविवाह गरेका थिए । सिग्देल दम्पतीको एक मात्र सन्तान आशुतोष अहिले स्नातकोत्तर तहको अध्ययन गर्दै छन् ।
सिग्देल संगीत सुन्न, पुस्तकहरू पढ्न र ट्रेकिङ जान रुचाउँछन् । उनी सेनामा प्रवेश गर्नुअघि राष्ट्रिय स्तरको बक्सिङ खेलाडी रहिसकेका छन् । स्कुले जीवनमा पनि उनी टेबलटेनिसका उम्दा खेलाडी थिए ।
भिडियो स्रोत : नेपाली सेना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।