जेठदेखि तातोपानी नाका खुलाउन तीव्र गतिमा काम

सिन्धुपाल्चाेक – आगामी जेठकाे तेस्राे सातादेखि सिन्धुपाल्चाेककाे ताताेपानी नाका सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेकाे छ । नाका २०७२ मा भूकम्प गएपछि चार वर्षदेखि बन्द रहेको छ । अहिले अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम भइरहेको छ।

बन्द नाकासँगै लार्चामा निर्मित सुक्खा बन्दरगाह बुधबार हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महिनापछि सरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशंकर सैंजुले जानकारी दिए।

बन्द नाका खुलाउन प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद अग्नि सापकोटा, घनश्याम भुसाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार राजन भट्टराई, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको टोलीले गत चैत २६ गते स्थलगत निरीक्षण गरी चाँडै काम सकाउन सम्बन्धित सचिवलाई निर्देशन दिएका थिए।

बाह्रबिसे नगरपालिकाअन्तर्गत गातीको बसेरीदेखि सीमा पुलसम्मको सडक चिनियाँ पक्षले मर्मत सम्पन्न गरिसकेको छ। सीमा पुलको काम आउँदो एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ २४सै घन्टा मजदुर खटिएर काम भइरहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

गत वर्ष बर्खामा बाढीले बगाएको बाह्रबिसेको खुर्सानीबारीस्थित साँदी खोलाको पक्की पुलको ठाउँमा आगामी सातामा बेलिब्रिज जडान गरिने भएको छ।

पक्की पुल निर्माणका लागि आवश्यक बजेट माग गरिए पनि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट निकासा नदिएकाले विकल्पको रुपमा बेलिब्रिज राख्नुपरेको इन्जिनियर निरौलाले बताए। रासस





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार ९:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया