नयाँदिल्ली– शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ८० रनले हराउँदै चेन्नाई सुपर किंग्स आइपिएलको फर्स्ट क्वालिफायरमा पुगेको छ ।
घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनायो ।१८० रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको दिल्ली १६.२ ओभरमा ९९ रनमै अलआउट भयो । दिल्लीका कप्तान श्रेयस ऐरले ४४ र शिखर धवनले १९ बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जम्मा ४ रन हुँदा पाँचौँ बलमै ओपनर पृथ्वी शालाई गुमाएको दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस ऐरले ४८ रनको साझेदारी गर्दै खेलमा टिकाउने जमर्को गरे । तर, ५.३ ओभरमा ५२ रन हुँदा धवन आउट भएपछि दिल्लीका लागि कुनै पार्टनरसिप जम्न सकेन ।
दिल्लीलाई सस्तैमा समेट्ने क्रममा चेन्नाईका इमरान ताहिरले ४ विकेट लिए । ३.२ ओभर बलिङ गरेका ताहिरले ४ विकेट गिराउन केवल १२ रन खर्चिए । रवीन्द्र जडेजाले ३ ओभर बलिङ गर्दै ३ विकेट लिए ।
यसअघि, चेन्नाईको ब्याटिङमा सुरेश रैनाले अर्धशतक बनाए । ३७ बल खेलेका रैनाले ५९ रन जोडे । कप्तान महेन्द्रसिंह धोनीले अविजित ४४ रन बनाए । फाफ् डु प्लेसिसले ३९ र रवीन्द्र जडेजाले २५ रन बटुले ।
ज्वरोका कारण अघिल्लो म्याच नखेलेका कप्तान धोनीले दिल्लीविरुद्धको खेलमा कमाल देखाए । निकै कठिन केही बलमा शानदार छक्का प्रहार गरेका धोनी ‘म्यान अफ द म्याच’ भए ।
जितसँगै चेन्नाई १३ खेलबाट १८ अंक बनाएर शीर्षमा उक्लिँदै फर्स्ट क्वालिफायरमा प्रवेश गरेको छ । अब उसले सोझै फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । १६ अंकसहित दोस्रो स्थानमा रहेको दिल्लीका लागि पनि फर्स्ट क्वालिफायरमा पुग्ने मौका अझै छ । फर्स्ट क्वालिफायरमा नपुगे पनि दिल्लीले प्लेअफको इलिमिनेटर राउन्डमा ठाउँ पाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।