logo-img

इमान्दारीसाथ जिम्मेवारी सम्पादन गर्न गृहसचिवकाे निर्देशन

गृहसचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गरेका छन् । साे क्रममा उनले सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिविधिबारे जानकारी लिए । 

सो अवसरमा उनले सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायत देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनको समस्या तथा चुनौतीका बारेमा जानकारी लिएका थिए । सोही अवसरमा गृहसचिव दुवाडीले सशस्त्र प्रहरील स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको बताए । 

उनले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताए । 

सशस्त्र प्रहरी बल नेपालमा स्राेतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीको सेवा, सुविधा र वृत्तिविकासमा मन्त्रालयको सदैव साथ रहने जनाउँदै उनले राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारी र जवाफदेहितासहित थप प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निर्देशनसमेत दिए । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशनलगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू परिचालित कार्यक्षेत्रमा इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पुूर्ण कर्मचारीहरुलाई निर्देशन दिए । 

निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले प्रधान कार्यालयमा रहेको बोर्डर रिसोर्स एण्ड रिसर्च सेन्टर, केन्द्रीय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्धारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरुको अवलोकन गरे । 



कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र वंशिराज दाहाल, गृह मन्त्रालयका पदाधिकारीलगायतको सहभागिता थियो ।



  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया