काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को विवाद अन्त्य गर्न माग गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बोल्दै पारसले यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् ।
लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाइ लिन नसकेको कप्तान पारसको गुनासो थियो । ‘मन्त्रीज्यू र सदस्यसचिवज्यूबाट आइसिसीसँग कुरा गरेर फुकुवा गर्नुपर्यो । हामीले धेरै कुरा गुमाइसकेका छौँ,’ उनले भने, ‘हाम्रो एकदिवसीय मान्यतालाई टिकाइराख्न क्यान आउनुपर्छ । हामीले अझ धेरै माथि पुग्नु छ ।’
यस सम्बन्धमा छलफल भइरहेको राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले जानकारी दिए । क्यान निलम्बनको विषयमा छलफल चलिरहेको र प्रधानमन्त्रीले पनि चासो राखेको उनको भनाइ छ ।
नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको एक वर्ष नाघिसक्यो, तर क्रिकेट संघको विवाद अझै समाधान भएको छैन । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको तीन वर्षभन्दा बढी भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।