logo-img

कावा प्रधानमन्त्री सिंहलाई मिश्रकाे चेतावनी : दिदी जाेगाउन खाेज्ने तपाईंलाई नहराई छाड्दिनँ

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले कावा प्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहलाई अबकाे निर्वाचनमा नहराई नछाड्ने चेतावनी दिएका छन् । एक्लै-एक्लै लडेको भए यसअघि नै दुवैपटक आरामले हराइदिन सक्ने उनकाे दाबी छ । 

मंगलबार सामाजिक सञ्जालमार्फत मिश्रले यस्ताे चेतावनी दिएका हुन् । सहरी विकासमन्त्रीसमेत रहेका सिंहले 'बाल मन्दिर' जग्गा प्रकरणमा आफ्नी दिदी रीतासिंह वैद्यलाई जाेगाउन खाेजेकाे आरोप लगाउँदै मिश्रले यस्ताे चेतावनी दिएका हुन् । उनले लेखेका छन्, 'अब तेस्रोपटक, अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न 'मुद्दा नै ढिसमिस गर्न खोज्ने' तपाईंलाई नहराई त कहाँ छोडुँला र!' 

यसअघिका निर्वाचनमा सिंहले सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर, त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले जितेकाे मिश्रले उल्लेख गरेका छन् । चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने नभएर, इज्जत बढ्न त त्योअनुरूपको काम हुनुपर्ने उनकाे भनाइ छ ।  उनले थपेका छन्,'जुन दिन म तपाईंलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतीकात्मक रूपमा बुझ्नुहोला।'



फेसबुक स्टाटसमा मिश्रले नयाँ पत्रिकाको समाचारको अंश पनि राखेका छन् । उक्त समाचारमा 'कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा प्रहरीले ढिसमिस पार्ने तयारी गरेको' उल्लेख छ । 

वैद्य बाल संगठनकी पूर्वअध्यक्ष रहेकाे र कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री रहेका वेला सिआइबीले यो बहुचर्चित मुद्दामा उनलाई जोगाउने प्रक्रिया अघि बढाएको समाचारमा दाबी गरिएकाे छ । 

३३ वर्षसम्म एकछत्र अध्यक्ष भएर संगठन चलाउने क्रममा वैद्यले संगठनको नक्सालस्थित २८ रोपनी पाँच आना जग्गा अनियमित तबरले लिजमा लगाएकाे बताइएकाे छ । 



  • प्रकाशित मिति : असोज ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया