संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएन: मुख्यमन्त्री शाही

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने बताएका छन् ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको बताए ।  

उनले भने, ‘हाम्रो पहिलो वर्ष तयारी गर्नमै व्यतित भयो । हामीले प्रशासनिक संरचना तयार गर्यौं । समग्र विकासलाई अघि बढाउनको लागि जनशक्ति आवश्यक हुन्छ । त्यसतर्फ ध्यान दिँदै हामीले कमभन्दा कम जनशक्तिमा बढिभन्दा बढि काम लिने नीति अख्तियार गरेका छौं ।’

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले आफूहरू योग्य कर्मचारी नियुक्ती गर्ने तयारीमा जुटेको पनि जनाए । उनले भने, ‘जनशक्ति कम भर्ना गर्ने उद्देश्यले हामीले योग्य कर्मचारी नियुक्ती गर्नुपर्छ भनेका छौं ।’ 

पहिलो वर्ष कानूनहरू निर्माण गर्नुपर्ने भएकोले उक्त कामपनि सम्पन्न गरिसकेको उनले स्पष्ट पारे । बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उनको भनाई छ । 

समग्र कर्णाली प्रदेशको विकास गर्नेगरि आफूहरुले गुरुयोजना बनाएको सुनाउँदै उनले भने ,‘बसोबास वैज्ञानिक छ कि छैन त्यो हेरेका छौं । सडक, विजुलीलगायतका अत्यन्तै महत्वपूर्ण पक्षहरूमा पनि हामीले ध्यान दिएका छौं । एकीकृत वस्ती विकास कार्यक्रम अघि बढाउनेछौं ।’

त्यस्तै गुरुयोजनाअन्तर्गत कुल कति सडक र पुलहरु निर्माण गर्नेलगायतका विषयमा पनि आफूहरुले ध्यान दिएको शाहीले स्पष्ट पारे । उत्पादनको क्षेत्रमा पनि विशेष ध्यान दिईएको उनको भनाई छ। 



उनले भने ,‘हर्बल, जुडिबुटी र जलस्रोतलगायतका पर्यटनका क्षेत्रमा पनि हामीले विशेष अध्ययन तथा अनुशन्धान गरेका छौं । अहिले हामी अध्ययनको सुरुवातमा छौं ।’

बजेट कार्यान्वयनमा भने आफूहरूले चूनौति भोग्नु परेको उनले गुनासो सुनाए । ‘९ अर्बको विकास बजेट थियो’–उनले भने,‘हामीले प्रदेशवासीहरुको मागका आधारमा योजना बनायौं । बजेट कार्यान्वयन गर्दै जाँदा कतिपय योजनाहरु फिजिबल नै भएनन् । कतिपय योजनाहरु डुप्लिकेशनको मारमा परे ।’



ईन्जिनियरलगायतका प्राविधिकहरुको दक्ष जनशक्तिको अभावका कारण विकास निर्माणका कामहरु द्रुत गतिमा हुन नसकेको मुख्यमन्त्री शाहीले स्वीकारे । उनले भने, ‘हाम्रो बजेट शतप्रतिशत कार्यान्वयन भएन् ।’ 

त्यस्तै शाहीले संघीयता कार्यान्वयनको सवालमा पनि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नभएको जिकिर गरे । उनले भने,‘तीन वटा सरकारबीच जसरी तालमेल तथा सहकार्य हुनुपर्दथ्यो, त्यो हुन नसकेकै हो । यो लुकाएर लुक्ने कुरा होईन। हामीले भर्खरै काठमाडौंमा सम्पन्न परिषदको बैठकमा सुझाएका छौं । संघले जसरी समन्वय गर्नुपर्दथ्यो, त्यसरी गर्न सकेन ।’

प्रदेशमा आईपर्ने कतिपय प्राकृतिक विपदका समस्याको बारेमा आफूहरू गम्भिर भएपनि आवश्यक स्रोत र साधन नहुँदा अकालमै प्रदेशवासीहरुले ज्यान गुमाउनु परेको पनि उनले गुनासो सुनाए । 

उनले भने, ‘हुम्लामा हालै भएको समस्याको सवालमा पनि हामीले सकेकोजति काम गर्यौं । तर, हामीलाई तत्काल विरामी उद्धार गर्नको लागि हेलिकप्टर चाहिन्छ । हामीले केन्द्र सरकारसँग यो माग गरेका छौं ।’

कर्णाली प्रदेश अहिलेपनि अन्याय र उत्पीडनमा रहेको उनले सुनाए । आफूहरूले बजेटको विनियोजन गर्दा मावन विकास सूचांकलाई आधार बनाउनुपर्छ भनेर बारम्बार आवाज उठाईरहेको पनि मुख्यमन्त्री शाहीले सुनाए । 

  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १०:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया