logo-img

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, कुशल र करणको उत्कृष्ट प्रदर्शन
ब्याटिङमा नेपालको संघर्ष जारी

क्यानडामा रहेको नेपाली क्रिकेट टिमले एकदिवसीय अभ्यास श्रृंखलामा दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा नेपालले सोमबार राति सम्पन्न खेलमा क्यानडा हाईप्रफमेन्स अर्थात् एचपी टिमलाई १० रनले हरायो ।

नेपालले पहिलो खेलमा तीन विकेटको हार बेहोर्दा दोस्रो खेलमा २० रनको जित निकालेको थियो । यद्यपि नेपालले तीनवटै अभ्यास खेलमा पूरा ५० ओभर भने खेल्न सकेन ।

नेपाल पहिलो खेलमा ३९.४ ओभरमा १४३ रन तथा दोस्रो खेलमा ४६.१ ओभरमा १७६ रनमै अलआउट भयो । यस्तै, नेपाल तेस्रो खेलमा ४८.३ ओभरमा १८७ रनमा समेटियो । नेपालले तीनवटै खेलमा पहिला ब्याटिङ गरेको थियो ।

तीनमध्ये दुई खेलमा नेपालले ओपनिङमा राम्रो गर्‍यो । तेस्रो खेलमा भने नेपालको सुरुवात निकै खराब रह्यो । नेपालले यस खेलमा १२ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएर ३६ रन मात्र बनाएको थियो । 

यो संकटबाट नेपाललाई सम्मानजनक स्थितिमा पुर्याउन कठिन थियो । तर, कुशल भुर्तेल र आरिफ शेखले राम्रो पारी खेल्दै नेपाललाई १ सय ८७ को स्कोरमा पुर्याए । तेस्रो अभ्यास खेलमा कुशलले नवौँ नम्बरमा ब्याटिङ गर्दै ७० बलमा ५ चौकासहित ५२ रनको इनिङ खेले ।

यस्तै, आरिफ शेखले ३९ बलमा तीन चौका र दुई छक्कासहित ४० रनको योगदान दिए । त्यस्तै, कप्तान सोमपाल कामीले २७ र अर्जुन साउदले १७ रन जोडे । यस खेलमा कुशल मल्ल आठ, आसिफ शेख र भीम सार्की सात/सात, अनिलकुमार साह ६, दीपेन्द्र सिंह ऐरी चार, करण केसी एक तथा देव खनाल शून्यमै आउट भए ।



एचपी क्यानडाका लागि बलिङमा जाहिद शिरजादले १० ओभरमा तीन मेडनसहित ३५ रन दिएर सर्वाधिक तीन विकेट लिए । नेपालले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको क्यानेडियन टिम ४४.५ ओभरमा १ सय ७७ रनमा अलआउट भयो । 

उसका लागि अलि नदीमले ११६ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ८५ रन बनाए । एचपी क्यानडाको पारी ध्वस्त पार्नेक्रममा तीव्र गतिका बलर करण केसीले ९.५ ओभरमा ५५ रन दिएर सर्वाधिक ५ विकेट लिए ।



यस्तै, सागर ढकालले दुई, ललितनारायण राजवंशी, आरिफ शेख र रिजन ढकालले एक/एक विकेट लिए । कप्तान रोहितकुमार पौडेल र सन्दीप लामिछानेले भने तेस्रो अभ्यास म्याच पनि खेलेनन् । यस्तै, गुलशनकुमार झाले पनि यस खेलमा विश्राम पाए । नेपाल र क्यानडा एचपीले चौथो अभ्यास खेल मंगलबार खेल्ने तालिका छ । 

नेपाली टिम अमेरिकाको भ्रमण गर्नुअघि क्यानडाको ‘ए’ टिमसँग अभ्यास म्याच खेलिरहेको हो । अमेरिकामा रहँदा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्ने तालिका छ, जसअन्तर्गत नेपालले १७, १९ र २० अक्टोबरमा अमेरिकासँग तीन खेलको टी–२० सिरिज खेल्ने छ ।

त्यसपछि नेपालले लिग–२ मा अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । उक्त सिरिजअन्तर्गत नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

जारी लिग–२ मा हालसम्म ८ वटा म्याच खेलिसकेको नेपालले एउटा खेलमा मात्र जित निकालेको छ । नेपाल अहिले ३ अंकसहित तालिकाको सातौं स्थानमा छ । 

  • प्रकाशित मिति : असोज २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया