नयाँ शक्ति–फोरमबीच पक्का भयो एकता, अब राजपा कता ?

काठमाडौं– पटक–पटक सहमतिनजिक पुगेर रोकिएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच अन्ततः पार्टी एकताका लागि सहमति जुटेको छ । शनिबार बबरमहलस्थित नयाँ शक्तिको केन्द्रीय कार्यालयमा बसेको दुई पार्टीको बैठकमा डा.भट्टराई र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेर पार्टी एकतामा सहमति गरेका हुन् । पार्टी एकताको औपचारिक घोषणा सोमबार (वैशाख २३) नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ११ बजे गर्ने नयाँ शक्तिका प्रवक्ता नवराज सुवेदीले जानकारी दिएका छन् । 

बैठकको निर्णय सुनाउँदै प्रवक्ता सुवेदीले समुन्नत समाजवादको मार्गदर्शक सिद्धान्त अवलम्बन गरेर पार्टी अगाडि बढ्ने समहति भएको बताए । उनले केन्द्रीय समितिदेखि तल्लो तहका समितिसम्म एकता गर्ने सहमति  भएको जानकारी दिए । प्रवक्ता सुवेदीका अनुसार नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ रहनेछ । 

बैठकमा फोरम नेपालका अध्यक्ष यादवले दुवै पार्टी मिलेर जानु नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै खास गरेर समुन्नत समाजवाद, समावेशिता, समृद्धि र पहिचानमा आधारित राजनीति चाहनेहरू सबै एकजुट भएर अगाडि बढ्नुपर्ने भनाइ राखेको प्रवक्ता सुवेदीले जानकारी गराए । 

यादवको भनाइ उद्धृत गर्दै प्रवक्ता सुवेदीले थपे, ‘हामी दुवै पार्टी मिलेर जानुपर्ने अहिलेको आवश्यकता हो । तर, भविष्यमा अरू पार्टी पनि एकतामा आउन सक्छन् । खास गरेर समुन्नत समाजवाद, समावेशिता, समृद्धि र पहिचानमा आधारित राजनीति चाहनेहरू सबै एकजुट भएर अगाडि बढ्नुपर्छ ।’ 


 
फोरम सरकारबाट बाहिरिने कुरामा भने अहिले विस्तृत छलफल नभएको प्रवक्ता सुवेदीको भनाइ छ । सो विषयलाई छलफलको एजेन्डा नबनाएको उनले बताए । 
दुवै पार्टीको केन्द्रीय कमिटीले यस विषयमा सल्लाह गर्ने बताउँदै सुवेदीले भने, ‘फोरमले सरकार छाड्ने विषयमा विस्तृत छलफल भएन । त्यसलाई हामीले छलफलको एजेन्डा नै बनाएका छैनौँ ।’ दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटीले नै त्यो विषयमा सल्लाह गर्ने उनको भनाइ छ । 



राष्ट्रिय जनता पार्टी (राजपा)सँग पार्टी एकता किन हुन सकेन ? भन्ने फरकधारको प्रश्नमा प्रवक्ता सुवेदीले भने, ‘केही दिनभित्र उहाँहरूले पनि आफ्नो औपचारिक निर्णय गरेर आउनुहुन्छ । हामी उहाँहरूलाई पनि हार्दिक स्वागत गर्नेछौँ ।’  

किस्ताबन्दीमा पार्टी एकता गरेर वैकल्पिक शक्ति बन्दैन : राजेन्द्र महतो 
   
यता, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने नयाँ पार्टीसँग एकता नगर्ने बताएका छन् । उनले भने, ‘त्यो त सक्किसक्यो ।’ 



नयाँ शक्ति र फोरमबीचको एकतालाई महतोले ‘किस्ताबन्दी एकता’को संज्ञा दिए । यसरी वैकल्पिक शक्ति नबन्ने उनले ठोकुवा गरे । उनले भने, किस्ताबन्दीमा पार्टी एकता गरेर वैकल्पिक शक्ति बन्दैन ।’ 
  
नयाँ शक्तिले वैकल्पिक धार छाडेको आरोप लगाउँदै उनले भने, ‘नयाँ शक्ति जुन छ, उसले वैकल्पिक शक्तिकै बाटो छोडिसक्यो ।’ 


फोरम र नयाँ शक्ति वैकल्पिक शक्ति निर्माणमा नगएर केवल पार्टी बनाउनेतर्फ मात्रै केन्द्रित भएको महतोको आरोप छ । थप स्पष्ट पार्दै महतोले भने, ‘उहाँहरूले २–४ दिन समय निकालेर सबैलाई एकैपटक समेट्नुपथ्र्यो ।’ आफूहरूले एकता गरौँ, सबै एकैचोटि मिलेर एउटा धमाका दिऔँ भनेको, तर दुई पार्टीले हतार गरेर एकता गरेको उनले बताए ।   

वैकल्पिक शक्ति निर्माण गर्नका लागि नयाँ शक्तिसँग बहस सुरु गरिएको बताउँदै महतोले भने, ‘त्यसका लागि सबै शक्ति मिल्नुपर्छ, एकैपटक एकता गरेर अगाडि बढ्नुपर्छ भनेर कुरा गरेका थियौँ । तर, बाबुरामजीले मान्नुभएन ।’ 

  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १७:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया