नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाहमा दोषी ठहर भएका छन् । उच्च अदालत पाटनले शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो ।
उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना ठहर गरेको छ । यसअघि जिल्ला अदालत काठमाडौंले ०७९ चैत २३ मा उनलाई बहुविवाहमा दोषी ठहर गरेको थियो । उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो ।
शेर्पाकी पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले उनीविरुद्ध कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । उनको निवेदनमा उच्चले सुरुमा सदर गर्ने फैसला सुनाएको हो । खरेलले शेर्पा पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । पासाङ शेर्पाले करिश्मा खरेलसँग ०६१ असारमा र पूजासँग ०६३ मा विवाह गरेका थिए ।
मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको ठहर जिल्लाले गरेको हो । उक्त ऐनमा यस्तो कसुर गर्नेलाई १ वर्ष कैद र ५ हजार जरिवाना हुने उल्लेख छ ।
शेर्पासँग विवाह गरेकी पूजा परियारले आफूले अर्की श्रीमती भएको थाहा नपाएर विवाह गरेको बयान दिएपछि उनले सफाइ पाएकी छिन् । उनलाई जिल्ला अदालतले सफाइ दिएको थियो भने उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।