तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।
बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए ।
‘नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौँ,’ उनले भने ।
केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको गुरुङको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको उनले बताए ।
‘अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ,’ गुरुङले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।