logo-img

खरबारी फाँडेर केराखेती, वार्षिक २ करोड आम्दानी

पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बीचमा बेनी नगरपालिका–२ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

करिब १ सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी, खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिकरूपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउँछन् । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक २ करोड रुपैयाँभन्दा बढी रकम भित्रिने गरेको उनी बताउँछन् ।

वि.सं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत घिमिरे बताउँछन् । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो ।  

‘खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले ५ सय रोपनीभन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ,’ उनले भने । 

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउँछन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक ७ लाखसम्म आम्दानी हुने गरेको बताए ।

‘भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ । तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ,’ कृषक कार्कीले भने ।



स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । ‘बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,’ अर्का कृषक जगतबहादुर घिमिरेले भने ।

खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम् ३० हजारदेखि १० लाखसम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।



अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको उनी बताउँछन् । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ । रासस 

  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया