आयल निगमलाई विद्यार्थीकाे एकहप्ते अल्टिमेटम : सहुलियतमा ग्यास उपलब्ध गराउन माग

काठमाडौं– विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न माग गर्दै विद्यार्थी संगठनले आयल निगमलाई एकहप्ते अल्टिमेटम दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले सहमति कार्यान्वयन गर्न एकहप्ते अल्टिमेटम दिएका हुन् । 

विद्यार्थी संगठनले आइतबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई एकहप्ते अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र बुझाएका हुन् । उनीहरूले एक हप्ताभित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् । 

ध्यानाकर्षण पत्रमा आयल निगममा भ्रष्टाचार नियन्त्रण गर्न माग गरिएको छ । साथै पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी  नीति बनाउन निगमको गम्भीर ध्यानाकर्षण गराइएको छ । आयल निगमले गत बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १ रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो । 

आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताए । विगतमा गरिएका सहमति सम्बोधनका लागि आवश्यक छलफल गर्ने उनले आश्वासन दिए । 





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार १६:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया