अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिन स्विप गरेर उत्साहित रहेको नेपालले ‘ए’ टिमविरुद्ध भने निकै खराब प्रदर्शन गरेको छ । मंगलबार राति सम्पन्न एकदिवसीय अभ्यास खेलमा नेपालले अमेरिका ‘ए’ सँग ब्याटिङमा खराब प्रदर्शन गरेको हो । यस खेलमा नेपाल ४ विकेटले स्तब्ध भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २५.३ ओभरमा ८० रनमै समेटियो । नेपालका लागि कुशल मल्लले ४८ बलमा १८ रन जोडे । यस्तै, देव खनालले १२ र भीम सार्कीले १० रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अमेरिका ‘ए’ का लागि आरिन नाडकर्णीले चार, आर्यन देसाईले दुई, अभिषेक पराडकर, अलि शेख र उत्कर्ष श्रीवास्तवले एक/एक विकेट लिए ।
नेपालले दिएको ८१ रनको झिनो लक्ष्य अमेरिका ‘ए’ ले २३.१ ओभरमा पूरा गर्यो । उसका लागि नितिश रेड्डीले ३९ बलमा सर्वाधिक २९ रन बनाए । नेपालका लागि बलिङमा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे ।
उनले ८.१ ओभरमा एक मेडनसहित २७ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, रिजन ढकाल र ललितनारायण राजवंशीको नाममा एक/एक विकेट रह्यो । नेपालले आइसिसी विश्वकप लिग–२ श्रृंखला अघि अमेरिका ‘ए’ सँग अभ्यास म्याच खेलेको हो । नेपालले लिग–२ सिरिजमा कात्तिक ११ र १७ गते अमेरिका तथा कात्तिक १३ र १९ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ ।
लिग–२ मा आठ म्याच खेलिसकेको नेपालले ६ मा हार, एकमा अंक बाँड्दा एउटा खेलमा मात्र जित निकालेको छ । नेपाल अहिले तीन अंकसहित तालिकाको सातौं स्थानमा छ । टिमले लगातार खराब प्रदर्शन गर्न थालेपछि मुख्य प्रशिक्षक मोन्टी देसाई दबाबमा छन् ।
सोही कारण पनि क्यानले पूर्व हेडकोच पुबुदु दसानायकेलाई नेपाली टिममा मेन्टरको रूपमा नियुक्त गरेको छ । उनी नेपाली खेलाडीको कमजोरी र बलियो पक्षबारे जानकार छन् । यस्तै, विदेशी मैदानमा नेपालको प्रदर्शन राम्रो छैन । त्यसकारण पनि टिमको प्रदर्शनमा सुधार ल्याउन नेपालले अमेरिका भ्रमणका लागि दासानायकेलाई मेन्टरमा नियुक्त गरेको हो ।
उनले दुईपटक नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । दसानायके पहिलोपटक सन् २०११ देखि ०१५ सम्म नेपाली टिमको प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यस समयमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गर्यो ।
यस्तै, पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकप पनि खेल्यो । पछिल्लो समय उनी २०७८ मा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । दोस्रो कार्यकालमा भने पुबुदुको प्रशिक्षणमा नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
उनी आउँदो १५ कात्तिकदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) टिम जनकपुर बोल्ट्समा मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हाल्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।