पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो १५ मंसिरदेखि काठमाडौंमा आयोजना हुँदैछ । लिगलाई भव्य बनाउन नेपाल क्रिकेट संघ (क्यान) अहिले तयारीमा व्यस्त छ ।
प्रतियोगितामा सहभागी हुने आठवटै टिम पनि खेलाडी अनुबन्धदेखि लिग उपाधि जित्ने रणनीति बनाइरहेका छन् । सबै फ्रेन्चाइजहरूले नेपाली खेलाडीलाई अक्सनबाट अनुबन्ध गरिसकेका छन् । उनीहरूले अब विदेशी खेलाडी भित्र्याउन बाँकी छ ।
एनपिएल खेल्ने टुंगो लागेका खेलाडी
७ कात्तिकसम्मको अपडेटअनुसार सर्वाधिक विदेशी खेलाडी भित्र्याउने टिमको सूचीमा पोखरा एभेन्जर्स शीर्ष स्थानमा छ । उसले तीनजना विदेशी खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।
पोखराले अमेरिकाका एन्ड्रिज गौस, वेस्ट इण्डिजका एन्डरसन फिलिप र नेदरल्याण्ड्सका बास डे लिडेलाई अनुबन्ध गरेको हो । उनीहरूमध्ये गौस विकेटकिपर/ब्याटर, लिडे अलराउन्डर तथा फिलिप तीव्र गतिका बलर हुन् । पोखरामा कुशल भुर्तेल ‘मार्की प्लेयर’ रहेका छन् ।
यस्तै, अर्को एनपिएल टिम कर्णाली याक्सले अहिलेसम्म पाकिस्तानी अलराउन्डर हुसेन तलतलाई अनुबन्ध गरेको छ । उनले पाकिस्तानका लागि हालसम्म १८ टी–२० आई र एक ओडिआई खेलेका छन् । हुसेनआबद्ध कर्णालीमा सोमपाल कामी ‘मार्की प्लेयर’ रहेका छन् ।
यस्तै, एनपिएल खेल्ने टुंगो लागेका अर्का विदेशी हुन्, स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेन । उनले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने भएका हुन् ।
म्याकमुलेनले हालसम्म २२ ओडिआई र १६ टी–२० आई खेलेका छन् । उनीआबद्ध भएको सुदूरपश्चिममा अलराउन्डर दीपेन्द्र सिंह ऐरी ‘मार्की प्लेयर’ रहेका छन् ।
यस्तै, स्पिनर सन्दीप लामिछाने ‘मार्की प्लेयर’ रहेको विराटनगर किंग्सले अहिलेसम्म विदेशी खेलाडीको रूपमा ओमान टिमका कप्तान अकिब इलियासलाई अनुबन्ध गरेको छ ।
अकिबले नेपालमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले हालसम्म ५६ टी–२० आई र ३२ ओडिआई खेलेका छन् । यस्तै, नेदरल्याण्ड्सका युवा ओपनिङ ब्याटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट एनपिएल खेल्ने पक्का भएको छ ।
काठमाडौंले पहिलो विदेशी खेलाडीको रूपमा लेभिटलाई अनुबन्ध गरेको हो । उनी आक्रामक ब्याटिङ लागि परिचित छन् ।
२१ वर्षीय लेभिटले गत फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा टी–२० आईमा डेब्यू गरेका थिए । उनले हालसम्म नेदरल्यान्ड्सका लागि आठ ओडिआई र १७ टी–२० आई खेलेका खेलेका छन् ।
काठमाडौं गुर्खाजमा करण केसी ‘मार्की प्लेयर’ रहेका छन् । यस्तै, इंग्ल्याण्डका टम मूरिसले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन् । उनले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छैनन् ।
यद्यपि विभिन्न २८ वर्षीय मूरिसले लिग भने खेलिसकेका छन् । उनीसँग द हन्ड्रेड क्रिकेट, लंका प्रिमियर, बंगलादेश प्रिमियर र पाकिस्तान सुपर लिग खेलेको अनुभव छ ।
मूरिस जोडिएको लुम्बिनीमा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेयर रहेका छन् । यो सामग्री तयार पार्दासम्म जनकपुर बोल्ट्स र चितवन राइनोजले भने विदेशी खेलाडीलाई सार्वजनिक गरेका छैनन् ।
पहिलो सिजनको एनपिएलमा एउटा टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।