आइसिसी विश्वकप लिग–२ को जारी संस्करणमा नेपालको सुरुवात राम्रो हुन सकेन । ८ म्याच खेलिसकेको नेपालले एउटा खेलमा मात्र जित दर्ता गरेको छ ।
नेपालले उक्त जित गत फेब्रुअरीमा भएको लिग–२ को पहिलो सिरिजमा हात पारेको थियो । त्यसयता नेपालले ओडिआईमा जित निकाल्न सकेको छैन । घरेलु मैदानको फाइदा उठाउन चुकेको नेपालले हालै क्यानडामा लिग–२ श्रृंखला खेल्यो । त्यहाँ पनि नेपालको प्रदर्शन कमजोर रह्यो ।
क्यानडाको लिग–२ सिरिजमा नेपालले चारमध्ये तीनमा हार तथा एक खेलमा अंक बाँड्यो । नेपाल अहिले आठ खेलबाट तीन अंकसहित तालिकाको सातौं स्थानमा छ । अब नेपालका लागि लिग–२ को प्रत्येक श्रृंखला महत्वपूर्ण छ ।
नेपालले आफ्नो तेस्रो सिरिजमा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका छ । श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम अमेरिकाको सामना गर्नेछ । यी दुई टिमबीचको खेल कात्तिक ११ गते हुनेछ । त्यसपछि नेपालले कात्तिक १३ मा स्कटल्याण्डसँग तथा कात्तिक १७ मा अमेरिकासँग खुनेछ ।
श्रृंखलाको अन्तिम तथा चौथो खेलमा नेपालले कात्तिक १९ गते स्कटल्याण्डको सामना गर्ने तालिका छ । पछिल्लो ६ महिनायताको प्रदर्शन हेर्ने हो भने नेपाली टिम ओडिआईमा जितका लागि संघर्ष गरिरहेको छ । पर्याप्त खेल नखेलेकाले पनि टिमलाई यस फर्म्याटमा लयमा आउन समय लागेको हुन सक्छ ।
सोही खराब लयका कारण मंगलबार राति सम्पन्न अमेरिका ‘ए’ सँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ८० रनमै अलआउट भयो । जबकी नेपालले त्यसको एकदिन अघि अमेरिकाको प्रमुख टिमसँगको तीन खेलको टी–२० सिरिज ‘क्लिन स्विप’ गरेको थियो ।
नेपालले सोही लय एकदिवसीय म्याचमा पनि दोहोर्याउनेमा समर्थक र खेलाडी आशावादी थिए । तर, अमेरिका ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ब्याटिङमा फ्लप भयो । र, टिमले ४ विकेटको हार बेहोर्यो ।
नेपाललाई अब अभ्यास खेलको कमजोरीमा सुधार गरेर लिग–२ श्रृंखलामा उत्कृष्ट कमब्याक गर्नुपर्छ । त्यसका लागि नेपालको ब्याटिङ चल्न आवश्यक छ । ओडिआईमा विदेशी मैदानमा नेपालको ब्याटिङ रेकर्ड राम्रो छैन । तर, केही दिनअघि टी–२० श्रृंखला जितेकाले नेपाली टिममा आत्मविश्वास बढेको छ ।
अमेरिका र स्कटल्याण्डविरुद्ध नेपालको विगत प्रदर्शन
हालसम्म नेपालले अमेरिकासँग ६ ओडिआई खेलेको छ, जसमा नेपालले तीनमा जित, दुईमा हार तथा एक खेलमा अंक बाँडेको छ । नेपाल र अमेरिकाले ओडिआईमा पहिलोपटक सन् २०२० मा एकअर्काको सामना गरेका थिए ।
टियू मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । यस्तै, यी दुई टिमले पछिल्लोपटक गत वर्ष यस फर्म्याटमा एकअर्काविरुद्ध खेलेका थिए ।
जिम्बाब्वेमा भएको उक्त खेलमा अमेरिकाविरुद्ध नेपाल ६ विकेटले विजयी भयो । यसपालि पनि अमेरिकाविरुद्ध नेपाल आफ्नो अपराजित यात्रा कायम राख्ने सोचमा छ ।
यस्तै, नेपालले स्कटल्याण्डसँग पनि हालसम्म ६ ओडिआईमा प्रतिस्पर्धा गरेको विगत छ, जहाँ दुवै टिमले तीन/तीन खेल जितेका छन् । ओडिआईमा नेपाल र स्कटल्याण्डबीच पहिलो भेट १३ जुलाई सन् २०२२ मा भएको थियो । उक्त खेलमा नेपालले स्कटल्याण्डविरुद्ध ५ विकेटको जित निकाल्यो ।
यस्तै, यी दुई टिमले पछिल्लोपटक गत वर्षको २१ फेब्रुअरीमा ओडिआई खेलेका थिए । उक्त खेलमा नेपालले २ विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले सोही वर्षको १७ फेब्रुअरीमा भएको खेलमा स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।
नेपाली टिम यसपटक पनि स्कटल्याण्डलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।