नयाँ दिल्ली– पञ्जाबकी पूर्वमुख्यमन्त्री बिबी राजिन्दर कौर भट्ठलले चुनावी र्यालीमा आफ्नो क्षेत्रको विकासबारे प्रश्न गर्ने युवकलाई झापड हानिन् । ७३ वर्षे कांग्रेस नेत्री भट्ठल पञ्जाबकी पहिलो र हालसम्म एक मात्र महिला मुख्यमन्त्री हुन् ।
पूर्वमुख्यमन्त्री भट्ठल आइतबार दिउँसो संगरुरका कांग्रेस प्रत्यासी केवलसिंह ढिल्लोँको चुनावी र्यालीमा सामेल भएकी थिइन् । एक युवकले ढिल्लोँसँग प्रश्न गरे, ‘तपाईंले यो क्षेत्रको विकासका लागि के गर्नुभयो ?’
मञ्चमा बसेका नेताहरुले ‘पछि सोध्नू’ भनेर सभा अघि बढाए । सभा सकाएर आफ्नो प्रश्नको जवाफ नदिइकनै नेताहरु निस्कन थालेपछि युवकले भट्ठलतिर प्रश्न तेर्स्याए, ‘तपाईं २५ वर्षसम्म यहाँको सांसद रहनुभयो । यो क्षेत्रको विकासको लागि के गर्नुभयो ?’
प्रश्नले पूर्वमुख्यमन्त्री भट्ठलको कन्सिरी ततायो । प्रश्न गर्ने युवकलाई जोडले थप्पड हानिन् । सँगैका कांग्रेस कार्यकर्ताहरुले युवकलाई घिसार्दै एक कुनामा लगे । भट्ठल सरासर सभाबाट बाहिरिइन् ।
घटनाको चौतर्फी आलोचना भएको छ । अन्य दलका प्रत्यासीहरुले जनताको प्रश्नको सामना गर्न नसकेर आक्रमणमा उत्रिनुलाई पूर्वमुख्यमन्त्रीको ‘लज्जास्पद’ व्यवहार भनेका छन् ।
पछि, संचारकर्मीको जिज्ञासामा थप्पड हान्ने पूर्वमुख्यमन्त्री भट्ठलले केही मानिस जनीबुझी सभाको माहोल खराब गर्न लागिपरेको र युवाहरुलाई भड्काएर यस्तो ‘घटिया हर्कत’ गर्न लगाउने गरेको बताइन् । उनको निसाना आम आदमी पार्टीतर्फ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।