प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला फुटबल टोलीलाई विजेता हुन नसकेकोमा दुःख नमान्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई उक्त आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली टोलीको बंगलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरेका हुन् ।
उनले भने, ‘विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेन्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’
दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने पनि प्रधानमन्त्री ओलीले स्पष्ट गरेका छन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।
प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए । सो अवसरमा खेलाडीहरूले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।