२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

भारतले भाउ नदिएपछि ओलीले चाले चिनियाँ कार्ड
ओलीले पाएनन् दिल्लीको निम्ता, चीन जाँदा सरकार ढल्ने चिन्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी राष्ट्र चीन भ्रमणको गृहकार्य गरिरहेका छन् । एमाले नेताहरूका अनुसार उनले मंसिर तेस्रो साता चीनको भ्रमण गर्ने तयारी भइरहेको हो ।


नेपालमा सरकारको नेतृत्व गर्नेहरूले चीनभन्दा पहिले भारत भ्रमण रोज्ने गरेका छन् । भारतले पनि नेपालबाट त्यही चाहन्छ । गत असारको अन्तिमबाट सरकारको नेतृत्व गरिरहेका ओलीले पनि चीनभन्दा पहिले भारतको भ्रमण गर्ने चाहना राखेका थिए । तर, भारतबाट निम्तो नै नआएपछि उनले चीन भ्रमणको तयारी थालेका हुन् । 



आफ्नो नेतृत्वको सरकारले सत्ता सम्हालेको १ सय दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि प्रधानमन्त्री ओली चीन भ्रमणको गृहकार्यमा लागेका हुन् । उसो त उनलाई भारतमा सत्ताधारी दलकै कतिपयले चीन पक्षधर नेताका रूपमा चित्रण गर्ने गरेका छन् । 

चौथोपटक सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले यसपटक सत्ता सम्हालेको केही दिनमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । उनले मोदीलाई नेपाल भ्रमणको निम्तो गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्ली नै पठाए । तर, उनले दिल्लीमा अभूतपूर्व स्वागत पाइन्, ओलीले भने निम्तो पाएनन् ।



उसो त ओली स्वयंले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा गत असोजमा अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटका क्रममा ओलीले आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालदेखिको भारतसँगको असमझदारी चिर्न खोजे पनि त्यसमा सफलता मिलेन । 

नेपालमा नयाँ संविधान जारी हुँदा भारतले लगाएको अघोषित नाकाबन्दीले ओली–मोदीको सम्बन्ध बिग्रिएको थियो । त्यसबेला ओली भारतीय नाकाबन्दीको विपक्षमा उभिदा नेपाली राजनीतिमा लोकप्रिय बन्न पुगेका थिए । त्यस्तै, संविधान संशोधन गराएर चुच्चे नक्सालाई संवैधानिक मान्यता दिलाएका ओलीप्रति भारतीय पक्ष थप चिढिएको थियो । सोही कारण पनि ओली–मोदी सम्बन्ध सुधार हुन नसकेको बुझ्न कठिन छैन ।  

चीन जाँदा सरकार ढल्छ ?



प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे तयारी भइरहे पनि एजेन्डाबारे जानकारी भइसकेको छैन । यद्यपि, उनको भ्रमणको मुख्य विषय चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनको नै बन्ने देखिन्छ । किनकि चीनले यसलाई सक्दो चाँडो अघि बढाउन चाहिरहेको कुरा लुकाएको छैन । ओलीको भ्रमणको क्रममा चीनले बिआरआई कार्यान्वयनमा थप दबाब दिन सक्छ भने उनले पनि आफ्नो नाममा काम गरेको देखाउन हतार गर्न सक्छन् । 

अहिले पनि बिआरआईका विषयमा नेपालका राजनीतिक दलमा भने मतभेद रहँदै आएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० असोजमा गरेको भ्रमणका क्रममा पनि यो विषय चर्चामा थियो । त्यसबेला प्रचण्ड बिआरआईलाई कार्यान्वयन गर्ने पक्षमा थिए भने सत्ता साझेदार रहेको नेपाली कांग्रेस त्यसको विपक्षमा थियो ।

अहिले पनि एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा साझेदार रहेको कांग्रेस त्यसको विपक्षमै छ । यस्तो स्थितिमा ओलीले कस्तो रणनीति अपनाउलान् भन्ने हेर्न बाँकी नै  छ ।

ओली–प्रचण्ड ऋणमै भए पनि बिआरआईलाई कार्यान्वयन गर्ने पक्षमा छन् । कांग्रेस यसको विपक्षमा छ । कांग्रेस नेताहरूले बिआरआई ऋण नभएर अनुदान भए मात्रै अगाडि बढाउनु पर्ने बताउँदै आएका छन् । ऋणको रूपमा बिआरआई कार्यान्वयन गर्नै नहुने कांग्रेसको अडान छ । 

यसपटक भने ओलीको चीन भ्रमणको विषय सत्ता गठबन्धनमै सङ्कटका रूपमा आउन सक्छ । किनभने भारतको निम्तो नै नपाएको झोकमा उत्तरतिर उड्न लागेका ओलीको भ्रमणका क्रममा बिआरआई नै मुख्य विषय बन्न सक्ने कांग्रेसकै नेताहरूले बताउने गरेका छन् ।   

कांग्रेसले बिआरआईलाई ऋणको रूपमा लिनै नहुने र प्रधानमन्त्री ओलीले बिआरआईलाई अगाडि बढाउँदा फरक नपर्ने बताइरहेका बेला गठबन्धनमै खटपट आउन सक्ने देखिन्छ । 

  • प्रकाशित मिति : २५ कात्तिक, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया