अंश र वंश धान्न छोरा नै चाहिन्छ भन्ने मनोविज्ञानबाट नेपाली समाज अझै पनि माथि उठ्न सकेको छैन । अहिले पनि छोरा नपाएको भन्दै महिलामाथि हुने हिंसाका घटना सुनिने गरेका छन् ।
पितृसत्तात्मक सोचले जरा गाडेको नेपाली समाजमा हाल पनि छोरीभन्दा छोरा प्राथमिकतामा परिरहेका छन् । तर, आजकल तिनै छोरा आमाबुबाप्रति अनुत्तरदायी भएको घटना बढिरहेका छन् ।
नपत्याए, वृद्धाश्रमको फन्को लगाउँदा वा पाटीपौवा नियाल्दा काफी हुन्छ । थुप्रै आमाबुबा छोराबाटै तिरस्कृत तथा अपहेलित भएर वृद्धाश्रमको शरण पुग्नेक्रम पनि रोकिएको छैन ।
विगतभन्दा आजभोलि छोराछोरीबीच भेदभाव कम भएको जस्तो देखिए पनि समाजमा अझै ‘छोरा त चाहिन्छ’ भन्ने भावना पूर्णरूपमा हटिसकेको अवस्था छैन । छोरासरह ‘आइलाग्नेमाथि जाइलाग्न’ सक्ने सामर्थ्य राख्ने छोरीको महत्व नबुझेको समाजका अगाडि एउटा दरिलो खम्बा बनेर उभिए वीरगञ्जनिवासी स्वर्गीय तिर्थराज शर्मा र अन्नपूर्णा सापकोटा ।
दुनियाँले के भन्ला, मरेपछि पिण्ड कसले देला र वंश कसले अगाडि बढाउला भन्ने भयबाट मुक्त रहेर उनीहरूले छोरीहरूलाई साहसी र निडर बन्न सधैँ प्रेरणा दिइरहे । समाजले गर्ने हरेक प्रश्नलाई प्रतिकार गर्ने क्षमता राखेर, कसैको पनि प्रवाह नगरी स्वर्गीय शर्मा दम्पतीले आफ्ना पाँचजना छोरीको लालनपालन, शिक्षादीक्षा दिन कुनै कसर बाँकी नै राखेनन् ।
छोराभन्दा छोरी केही कुरामा पनि कम हुँदैनन् भन्ने दृढ संकल्प गरेर उनीहरूले कहिले पनि परिवारमा छोरा चाहिन्छ भन्ने आभास गरेनन् र छोरीहरूलाई पनि आभास हुन दिएनन् । तीनै आमाबुबाले हुर्काएका पाँच छोरी अनिता, बिनिता, प्रणिता, सम्झना र विभूति आज विभिन्न पदमा कार्यरत छन् ।
उनीहरूले समाजमा छोरीले पनि छोरा सरह कर्तव्य निभाउँछन् भन्ने जनचेतना फैलाइरहेका छन् । आफ्ना आमाबुबाको हरेक पितृ कार्यमा पाँच दिदीबहिनीले समान उपस्थिति जनाएर उदाहरणीय व्यक्तित्वका रूपमा पहिचान बनाएका छन् । वंश धान्न तथा पितृकर्म गर्न छोरा नै चाहिन्छ भन्ने समाजलाई दरिलो जवाफ कर्मले दिइरहेका छन्, विभूती सापकोटासहितकी पाँच दिदीबहिनीले ।
२७ कात्तिक अर्थात् हरिबोधिनी एकादशीको दिन । त्यस दिन काठमाडौंमा रहेको चर्चित धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा पुग्दा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन चलिरहेको थियो । उक्त महायज्ञ अरू कोही नभएर तिनै पाँचजना दिदीबहिनी अनिता, बिनिता,प्रणिता, सम्झना र विभूतिले मिलेर सञ्चालन गरेका हुन् । उक्त महायज्ञ शुक्रबारसम्म सञ्चालन हुने विभूती सापकोटाले बताइन् ।
परिवार पाँचजना छोरीमा सन्तुष्ट भए पनि कहिलेकाहीँ परिवारबाहिरका मानिसले छोरा त चाहिन्छभन्दा शर्मा दम्पति, ‘मेरा लागि छोरी नै सबथोक हुन्’ भनेर बताउने गरेको सम्झिन्छिन्, शर्मा दम्पतीकी कान्छी छोरी विभूती ।
उनले यो महायज्ञ पाँचजना दिदीबहिनीले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा लगाएको बताइन् ।
‘यो महायज्ञ खासमा स्वर्गीय आमाबुबाको सम्झनामा लगाएका हौँ । मुख्यरूपमा पाँचजना दिदीबहिनीको समान सहभागितामा सञ्चालन भइरहेको यस महायज्ञमा उपस्थित हुने तथा मन्दिरमा आउने भक्तजनले रुचाउनु भएको छ,’ विभूती भन्छिन्, ‘हामीले गरेको कर्म देखेर सबैजना एकदमै खुसी हुनुहुन्छ । उहाँहरू हामीलाई आर्शीवाद पनि दिइरहनुभएको छ । आमाबुबाको इच्छा भागवत लगाउने थियो, सोही इच्छालाई मनन गर्दै हामीले लगाएका हौँ ।’
बुढानिलकण्ठ मन्दिरजस्तो पावन भूमिमा महायज्ञ लगाउन पाउँदा एकदमै खुसी भएको उनको भनाइ छ । विभूतीका अनुसार हिजोआज समाजमा छोरीको अस्तित्वलाई विस्तारै स्विकार गरिँदैछ । अबका नयाँ पुस्ताले छोरा र छोरीबीच भिन्नता गर्नु हुँदैन । अहिलेका छोरीले अधिकार मात्र होइन कर्तव्य पनि निभाउँछन् भन्ने ज्ञान सबैमा हुन आवश्यक ठान्छिन् विभूती ।
नेपाली समाजमा हिजोआज पनि छोरीको अस्तित्वलाई पूर्णरूपमा स्विकार गरेको अवस्था छैन । केही दशक अगाडिसम्म त नेपाली समाजमा ‘छोरा नै चाहिन्छ’ भन्ने सोच झन् बढी थियो ।
अझै पनि छोराको आवश्यकतालाई धर्म, परम्परा र संस्कारसँग जोडेका पाइन्छ । मर्दापर्दा, लाहुर जान, धन कमाउन, घर व्यवहार चलाउन, पितृको श्राद्ध गर्न, मलामी जान वा कुनै कठोर परिश्रम गर्न छोरालाई अघि सार्ने प्रचलन कायम नै छ । समाजमा कायम रहेको प्रचलनका बाबजुद शर्मा दिदीबहिनीले आमाबुबाप्रति आफ्नो हरेक कर्तव्य निःसन्देह पूरा गरिरहेका छन् ।
‘हामी जुन घरमा जन्मियौँ, आफूलाई एकदमै भाग्यमानी ठान्छौँ । आमाबुबाले कहिले पनि तिमी छोरी मानिस हौं, यो गर, त्यो नगर भन्नुभएन,’ सापकोटा भन्छिन्, ‘समाजमा रहेका केही व्यक्तिले छोरीलाई धेरै नपढाउ, छोरीलाई किन बोल्न लगाएको, छोरीलाई किन अगाडि बढाएको, जे कुरामा पनि तर्कवितर्क गर्न नदेउजस्ता सुझाव बुबाआमालाई दिन्थे । तर, आमाबुबाले समाजमा रहेको व्याप्त सोचविपरीत गएर हामीलाई संस्कार, उच्च शिक्षा दिनुका साथै कर्मठ र निडर बनाउनुभयो । आज हामी दिदीबहिनी जहाँ छौँ, जस्तो छौं सबै बुबाआमाको देन हो ।’
बाँचुन्जेलको सहारा, लाश उठाउने काँध, मृत्युपश्चात् पिण्डदान दिने एक मात्र आश, वंश धान्ने भन्ने भाष्यको आधारमा वर्णन गरिएको छोरालाई नेपाली समाजले महत्वपूर्ण स्थान दिने गरेको छ । अर्काको घरमा जाने, सन्तान जन्माउने साधन, चुलो फुक्ने जात आदि उपमाले चिनिने छोरीको पहिचानमा अहिलेको समयमा केही सकारात्मक परिवर्तन भएको विभूतीको बुझाइ छ ।
महिला क्रमशः छोरी, बुहारी, आमा, सासू जुनसुकै भूमिकामा भए पनि एक कुशल सहजकर्ताको भूमिका निभाउँदै सबैलाई मिलाएर लैजान सक्ने र परिवारकै सशक्तीकरण गर्न सक्ने क्षमता राख्छिन् । उनीहरूमा भएको यही क्षमताको पहिचान गरी त्यहीअनुसारको वातावरण दिन बाँकी परिवारका सदस्यले सहयोग गर्ने हो भने उनीहरूले परिवार मात्र होइन समाजकै मुहार फेर्ने हैसियत राख्ने विभूतीको अनुभव र दृढ विश्वास छ ।
‘छोरा र छोरीबीच भिन्नता गर्नुहुन्न । छोरीले गर्न नसक्ने कुरा केही पनि छैन । आफ्ना छोरीहरूलाई शिक्षादीक्षा, साहस, अवसर दिनुपर्छ,’ उनले भनिन्, ‘छोरीले अवसर पाए जे काम पनि गर्न सक्छन् । यसअर्थमा छोराले कम गर्छन् भन्ने होइन तर हाम्रो समाजमा छोरीले गर्न सक्दैनन्, पितृ कार्य छोरीले गर्न हुन्न भन्ने जुन मान्यता छ त्यसलाई तोड्न आवश्यक छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।