गाउँमा सबैको एउटै स्वर थियो– थारुले संस्कृत पढ्नु हुँदैन । गाउँलेहरु तर्क गर्थे– थारुलाई कसैले पूजापाठमा बोलाउने भए पो संस्कृत पढ्नु !
कन्चनपुरका मोहनप्रसाद चौधरीले विज्ञान विषयमा नपढेर संस्कृत पढ्ने निर्णय गरेका थिए । गाउँलेहरुका यस्ता टिप्पणी झन् बढिरहेका थिए । गाउँले मात्र के भन्नु, उनकै घरमा पनि छोराले के पढेको होला भनेर प्रश्नहरु बर्सिइरहेका थिए ।
तर, मोहनप्रसादका बाबु ‘क्रान्ति’मा लागेका थिए । उनले छोराले के पढ्ने र नपढ्ने भन्ने कुरामा कहिल्यै वास्ता गरेनन् । ‘बाबाले भन्नुभएको थियो– तँ जे पढ्छस्, पढ,’ मोहनप्रसादले सम्झिए ।
२०५५ सालको कुरा हो । मोहनप्रसादले कन्चनपुरको एउटा स्कुलबाट एसएलसी पास गरे । त्यसपछि उनको मनमा दोधार सुरु भयो– के पढ्ने ?
बजारमा ब्रिजकोर्षका सेन्टर धमाधम खुलेका थिए । विज्ञान पढ्न चाहनेका लागि यस्ता सेन्टरहरु विशेष प्राथमिकता दिन्थे । मोहनप्रसाद पनि त विज्ञान नै पढेर त्यति बेला भोलिका डाक्टर वा इन्जिनियर बन्न चाहन्थेँ ।
तर, शारदा विद्यापीठमा अंग्रेजी पढाइरहेका पुरनमुरारी थापाको इच्छा र चाहना, अभिलाषा र आकांक्षाले मोहनप्रसादको बाटो मोडिदियो । उनी विज्ञानबाट अब संस्कृत पढ्न धकेलिए । तर, उनको यो निर्णयमा पनि उनका बाबुले कुनै असहमति जनाएनन् । माओवादी सशस्त्र द्वन्द्वमा लागेका मोहनप्रसादका बाबुले अरु स्कुलहरुमा संस्कृत पढाउन बन्द गर भन्दै हिँडेका थिए, तर यता छोराको चाहनालाई उनले पनि रोक्न सकेनन् ।
‘खासमा थापा सरलाई संस्कृत पढ्नु परेको रहेछ,’ मोहनप्रसादले सम्झिए, ‘दुबै जना सँगै पढौँ न त भनेर उहाँले मलाई संस्कृतका लागि ब्रिज कोर्ष पढाउने इन्स्टिच्युट लग्नुभयो ।’
फुर्सदिलो समय थियो । पढौँ न त भनेर मोहनप्रसाद त्यो ब्रिज कोर्षमा पुरनमुरारीसँगै गएर भर्ना भए । अब मोहनप्रसादले थारु टोन बदलेर संस्कृत शब्द पढ्नु पर्ने भयो । ‘सुरुमा अलि अलि समस्या त भयो नै तर आँटेपछि फत्ते गर्नु पर्छ भन्ने मनमा थियो,’ उनले भने, ‘अनि म तीन महिना कोठा थुनेर टुप्पी बाँधेर पढ्न बसेँ ।’
मोहनप्रसाद यो भन्दै गर्दा हाँस्दै थिए, ‘हेर्नुस्, यो बाहुनको भाषा त कस्सिएर नपढी नहुने रहेछ !’
मोहनप्रसादलाई त्यति बेलासम्म संस्कृत बाहुनको भाषा हो भन्ने लागेको थियो । तर, यसले उनलाई सम्मोहित बनाउँदै लगेको पनि थियो ।
प्लस टुका लागि प्रवेश परीक्षा दिँदा त अब मोहनप्रसादले विज्ञानलाई भन्दा पहिलो प्राथमिकतामा संस्कृतलाई राखे ।
‘मनबाट पूरै विज्ञान हराइसकेको त थिएन,’ उनले सम्झिए, ‘तर, संस्कृत नै पढ्दा पनि हुन्छ भन्ने लाग्न थालिसकेको थियो ।’ तर, पूरै आत्मविश्वासका साथ अगाडि बढ्न सकेका थिएनन्, मोहनप्रसाद । उनले विज्ञानको पनि प्रवेश परीक्षा दिए, त्यसमा सफलता पनि पाए ।
मोहनप्रसाद त विज्ञान नै पढ्न चाहन्थेँ, तर उनलाई संस्कृतको ब्रिजकोर्ष गर्न लगेका पुरनमुरारीले अझै पनि जोड दिइरहेका थिए, संस्कृत नै पढ्न । विज्ञानमा भर्ना भइसकेर कलेज जान थालिसकेका थिए मोहनप्रसाद । तर, मनमा फेरि संस्कृतमा नै फर्किउँ कि भन्ने भाव पनि उनमा थियो ।
यो अन्योलबीच उनका एक शिक्षक आए, लक्ष्मीनारायण । लक्ष्मीनारायण सरले पनि उनलाई संस्कृत नै पढ्न प्रेरित गरे । अहिले मोहनप्रसाद लक्ष्मी सरले भनेका शब्द सम्झन्छन्– तँ, संस्कत पढ केटा, अहिलेसम्म कुनै थारुले पढेका छैनन्, संस्कृत पढ्ने पहिलो थारु हुन्छस् नि !
यही कुराले मोहनप्रसादलाई संस्कृतमा डोर्यायो । अनि उनी चुपचाप संस्कृत पढ्न थाले, शास्त्रीसम्मको अध्ययन सके । सुरुसुरुमा लवजका कारण उनलाई समस्या परेको थियो, तर उनले सबै प्रतिकुलतालाई जिते र शास्त्री पास गरे ।
‘अब फेरि मलाई भविष्य के हुने हो भन्ने चिन्ता लाग्न थाल्यो,’ मोहनप्रसादले सम्झिए, ‘संस्कृतमात्र पढेर भविष्यमा केही हुँदैन कि भन्ने भयो, अनि एमए नेपालीमा गर्ने सोच बनाएँ ।’ उनले यसका लागि प्रवेश परीक्षाहरु पनि दिएका थिए । तर, अन्त्यमा उनको मनले फेरि मानेन । उनी संस्कृतमा नै आचार्य गर्ने भए । स्नातकत्तोर गरे संस्कृतमा । ‘बीचमा पूजापाठमा मलाई नबोलाए पनि पढाएर खान्छु भनेर एक वर्षे बिएड चाहिँ गरेँ,’ उनले भने ।
अहिलेसम्म संस्कृतमा स्नताकोत्तर गर्ने उनी एक मात्र थारु हुन् !
अहिले शारदा विद्यापीठमा नै अध्यापन गराइरहेका मोहनप्रसादले बुझेका छन्– संस्कृत भाषा त अथाहा ज्ञानको भण्डारण हो, विश्वको सबैभन्दा ठूला ज्ञानका कोष यही भाषामा लेखिएका छन् !
त्यही ज्ञानको भण्डारणमा विचरण गर्न सकियोस् भनेर त मोहनप्रसाद अहिले आफ्नी बहिनीलाई पनि संस्कृत नै पढाइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।