समाजवादी पार्टीभित्रको असन्तुष्टि : सैद्धान्तिक समस्या कि पदीय बार्गेनिङ ?

काठमाडौं– राजनीतिक परिवर्तन सकियो अब आर्थिक समृद्धि र विकासका लागि राजनीति गर्नुपर्छ भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा ०७३ जेठमा नयाँ शक्ति नेपालको गठन भएको थियो । मूलधारको राजनीति गरिरहेका अन्य पार्टीभन्दा फरक र वैकल्पिक राजनीतिक पार्टीका रूपमा सो पार्टी स्थापना गरिएको भट्टराईले दाबी गरेका थिए । 

तर, सो पार्टीले गत सोमबार (२३ वैशाख)मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी (फोरम)सँग एकता गरेको छ । फोरमसँगको एकतापछि भट्टराईको आलोचना हुन थालेको छ । वैकल्पिक शक्ति बनाउने भन्दै हिँडेका बाबुराम फेरि पुरानै सोच र संस्कारमा फर्किए भनेर आलोचना गर्ने एकातिर छन् भने अर्कोतिर आफ्नै सहकर्मीहरू पनि भट्टराईसँग असन्तुष्ट बनेका छन् ।

पार्टीमा व्यापक छलफल र संवाद नगरी एकता गरेको भन्दै पूर्वनयाँ शक्तिका नेताले भट्टराईलाई ज्ञापनपत्र नै बुझाएका छन् । यसअघि बुधबार असन्तुष्ट नेताहरूले छुट्टै भेलाको आयोजना गरेका गरेका थिए । भेलामा पूर्वसभासद् कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत नेता थिए । पार्टी एकता भएको एक साता पनि नबित्दै पार्टीभित्रकै त्यसमा पनि मुख्यगरी पूर्वनयाँ शक्तिका नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । जसले बाबुराम भट्टराईलाई जनयुद्धकालदेखि साथ दिँदै आएका थिए । 

पार्टी कमिटीलाई औपचारिकतामा मात्रै सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व कुनै छलफल नभएकोमा उनीहरूले  असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टमध्येका एक नेता देवेन्द्र पराजुलीले पार्टी एकतामा भन्दा पनि पार्टी एकतापूर्व पर्याप्त छलफल नभएकोमा आफूहरूको असन्तुष्टि रहेको बताए । फरकधारसँग उनले भने, पार्टी एकता भयो भनेर असन्तुष्टि होइन । पार्टी एकता हुनुपूर्व पर्याप्त छलफल भएन । नयाँ शक्तिमा लोकतन्त्रको जसरी अभ्यास हुनुपथ्र्यो त्यो भएन, त्यो मर्यो ।’ 

असन्तुष्ट नेताहरूको बुधबार भएको भेलामा नयाँ शक्तिले विकास गरेको नयाँ मूल्यमान्यता, विचारलाई नवगठित समाजवादी पार्टीमा कसरी अघि बढाउने भनेर छलफलका लागि भेला भएको नेता पराजुलीले बताए । यसका लागि सामूहिक छलफल गरेर जानुपर्छ भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । नेता पराजुलीले भने, ‘हामीले विकास गरेका नयाँ मूल्य–मान्यता, विचारलाई कसरी अगाडि बढाउने भनेर चिन्ताचासोले (नयाँ शक्ति)मा जम्मा भएका थियौँ । त्यसका लागि सामूहिक ढंगले संघर्ष गरेर जानुपर्छ भन्ने निष्कर्ष थियो ।’

स्रोतका अनुसार पूर्वनयाँ शक्ति पार्टीमा सम्बद्ध नेता तथा कार्यकर्ताहरूमध्ये केही नेपाली कांग्रेसमा र केही सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । यसअघि बुधबारै पूर्वनयाँ शक्तिकी नेतृ सीमा विक नेकपा प्रवेश गरिन् । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायतले पार्टीमा स्वागत गरेका थिए । 



यसबारे सत्तारुढ नेकपामा प्रवेश गर्ने हो ? भन्ने फरकधारको प्रश्नमा नेता पराजुलीले हाँस्दै भने, ‘किन जानुपर्यो र त्यहाँ ?’ उनले स्पष्ट पार्दै फेरि भने, ‘म हिजो माओवादीको नेता भएकाले मान्छेले अनुमान गरेका हुन् । असन्तुष्ट भएपछि पार्टी छाड्छ । पार्टी छाडेपछि पुरानै ठाउँमा जान्छ भनेर हिसाब गरेका होलान् ।’  एकीकरण गर्नुपूर्व संयोजक डा. भट्टराईले पार्टीभित्र पर्याप्त छलफल नगरी एकलौटी निर्णय गरेको आरोप लगाउँदै उनले भने, ‘पर्याप्त छलफल भएन । हाम्रा नयाँ मूल्यमान्यताहरू छन् । त्यसलाई कार्यान्वयन गर्नका लागि के हुन्छ ? हामी के–के विषयमा सहमतिमा जान्छौँ ? के विषय छाड्ने ? के कुरा नछाड्ने ? जस्ता विषयमा छलफल नै भएन ।’ 

पूर्वनयाँ शक्ति पार्टीका एक नेताले भने असन्तुष्ट नेताहरूको भेलालाई ‘पद बार्गेनिङ’को संज्ञा दिएका छन् । फरकधारसँग कुरा गर्दै उनले भने, ‘ठूला पद चाहिएको हो । पदका लागि घुक्र्याउन, बार्गेनिङ गर्न भेला आयोजना गरेका हुन् ।’ डा. बाबुराम भट्टराईले पार्टी एकीकरणको विषयमा सबैसँग छलफल गरेको ती नेताले बताए ।



'कल्पना धमलालाई पदाधिकारीमा राख्ने कुरा थियो । पदाधिकारीमा उहाँसँगै श्रीमान् पनि चाहियो । पदाधिकारीमा नपर्नेलाई केन्द्रीय समिति चाहियो,’ पूर्वनयाँ शक्तिका ती नेताले खुलाए, ‘त्यो भेलामा भएकै नाममध्ये एकजनाले ‘ल सर ! म फुलटाइम दिन्छु पार्टीमा । मलाई केन्द्रीय सदस्यमा पार्नुप¥यो’ भन्दै थिए । तर, ती नेता केन्द्रीय समितिको लिस्टमा परेनन् । नपरेपछि पार्टीको आलोचना गरेका हुन् ।’ 

‘अहिले पार्टीका बारेमा जे–जे कुरो बाहिर आएको छ ती सबै पद नपाएर नै हो,’ ती नेताले थपे, ‘घुक्र्याएर, फकाएर पाइन्छ कि भन्ने हिसाबले यसो गरेका हुन् ।’ ती नेताको भनाइमा नेता देवेन्द्र पराजुली पनि सहमत देखिन्छन् । पराजुली कल्पना धमलाका श्रीमान् हुन् । नेता पराजुली भन्छन्, ‘पद त चाहियो नि ! भागबन्डाका भनेको होइन । जिम्मेवारी त चाहियो नि त ! उपयुक्त जिम्मेवारी चाहियो । ती त स्वाभाविक हुन् । जिम्मेवारीविहीन भएर कसले काम गर्छ र ?’ 

कतिपयले भने नयाँ शक्तिले अघि सारेको पाँच ‘स’ को नारा र अबको निकास आर्थिक विकासको भिजन हराएको टिप्पणी पनि गर्ने गरेका छन् । डा. भट्टराईले अघि सारेका पाँच ‘स’मा स्वाधीनता, समतामूलक समृद्धि, समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र, सुशासन र सदाचार, समुन्नत समाजवाद छन् । 

समाजवादलाई निर्देशक सिद्धान्त मानेको पूर्वनयाँ शक्ति र फोरमको एकतापछि पार्टीको नाम नै समाजवादी राखिएको छ । तर, जसरी नेपाल कम्युनिस्ट पार्टी नाम राखेर गठन भएको नेकपाले कम्युनिस्ट सिद्धान्त नै भुलिसकेको भनेर आरोप खेपिरहेको छ । त्यो आरोप समाजवादी पार्टीले पनि नखेप्ला भन्न सकिन्न । अब नवगठित समाजवादी पार्टी नामजस्तै समाजवादी भएर कत्तिको अघि बढ्ला ? यो आमचासोको विषय बनेको छ ।

  • प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार १७:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया