logo-img

स्वदेश फर्किन प्रधानमन्त्रीको टोलीले रोज्यो- हिमालय एयरलाइन्स

प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेइजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एयरलाइन्सको एअरबस ३१९ वायुयानबाट स्वदेश फर्किएका छन् । 

यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद, मुख्य सचिव एकनारायण अर्याल, वरिष्ठ सरकारी अधिकारी र विभिन्न उद्योग तथा व्यापारका प्रतिनिधि संलग्न थिए । 

हिमालय एअरलाइन्सका अनुसार, वायुयान आज बिहान ११ बजेर चार मिनेट (चीनको स्थानीय समय) मा बेइजिङ क्यापिटल इन्टरनेशनल एअरपोर्टबाट प्रस्थान गरी नेपाली समयअनुसार २ बजेर ४८ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योंगले प्रधानमन्त्री ओली तथा प्रतिनिधिमण्डललाई वायुयानमा स्वागत गरेका थिए । हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले वायुयानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनपछि औपचारिकरूपमा स्वागत गरेका थिए । 



स्मरण रहोस्, हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एयरलाइन्स, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो । 

हिमालय एअरलाइन्ससँग हाल चारवटा विमान छन् । हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्र संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ । 



एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्डस २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र इन्जिनियरिङ सेवामा पुर्‍याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणीकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एयरलाइन्स अर्को महत्वपूर्ण आईएसओ प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन्स बन्यो ।    

हवाई उडानसम्बन्धी प्रशिक्षण सेवासहित यात्रुहरू र कार्गो सेवाका लागि उच्चस्तरीय सेवा प्रदान गरे बापत उक्त  प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३ मा, आइओएसए अपरेटरको रूपमा प्रमाणित र आइएटिए सदस्य एयरलाइन्सको रूपमा दर्ता भएको हिमालय एयरलाइन्स नेपालको पहिलो र एक मात्र एयरलाइन्स हो । 



सन् २०२१ को सेप्टेम्बरदेखि एयरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । यो प्रविधि जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ,हिमालय एअरलाइन्स ।

हवाई सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकको सेवामा एअरलाइन्सले आफूलाई पहिलो छनौटको भरपर्दो एयरलाइन्सको रूपमा स्थापित गरेको छ । दक्षिण एसियाकै अग्रणी एयरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको कुरा उसले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

  • प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया