नेपालमा अहिले क्रिकेट पर्व अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल) चलिरहेको छ । लिगको ९ खेल सकिँदा रोमाञ्चक प्रतिस्पर्धा देख्न पाइएको छ ।
लिगमा रौनक चुलिँदै गर्दा टोलीको लक्ष्य र नारालाई खेलाडीको प्रदर्शनले पनि साकार बनाइरहेको छ । ‘सुदूरको सान, मैदानमा तुफान’ यो एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले तय गरेको नारा हो । सुदूरपश्चिमले नाराअनुसार नै आफ्नो प्रदर्शनलाई चुस्त बनाइरहेको छ ।
लिगको सुरुवाती दुई खेलमा लगातार जित निकालेको सुदूरपश्चिमले बिहीबार पनि बलियो र महँगो टोली काठमाडौं गुर्खाजविरुद्ध एकतर्फी ७३ रनको जित निकाल्यो । दोस्रो खेलमा औसत ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा भने बेजोड प्रदर्शन गर्यो ।
सुदूरपश्चिमलाई सानदार जित दिलाउन यू–१९ राष्ट्रिय टोलीका स्पिनर नरेन साउदको प्रमुख भूमिका रह्यो । बुधबार मात्र संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको एसिसी यू–१९ एसिया कप खेलेर फर्किएका नरेनले बिहीबार एक्लै ५ विकेट लिएपछि सामाजिक सञ्जालमा अहिले उनी चर्चाको शिखरमा छन् ।
काठमाडौंविरुद्ध १८ वर्षीय नरेनले ३.५ ओभर १९ रन खर्चिएर पाँच विकेट लिए । योसँगै उनी जारी लिगको एउटै खेलमा पाँच विकेट लिने पहिलो नेपाली बलर बने ।
‘राति देखिनै मैले राम्रो खेल्दै प्लेयर अफ दि म्याच बन्छु भन्ने सोचेको थिए । आज सोचेअनुसार खेल्न सकेँ । ठूला र नाम चलेका खेलाडीको बीचमा पहिलो खेलमै यस्तो प्रदर्शन गर्न सकेकोमा धेरै खुसी छु । आज कप्तान दीपेन्द्र दाइले पनि मलाई राम्रो मोटिभेसन गरिराख्नुभएको थियो,’ खेल सकिएपछि नरेनले भने, ‘हरेक बलमा बाउन्ड्री गए पनि केही छैन । तिमीले राम्रो बल फ्याँक्छौँ । हामीलाई विश्वास छ, तिमीले विकेट निकाल्छौँ भनेर सम्झाउनुभएको थियो ।’
एनपिएलमा नरेनको यो डेब्यू खेल हो । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि नरेन राम्रो बलर रहेको भन्दै उनको प्रदर्शनका खुसी व्यक्त गरे ।
बुधबार यू–१९ एसिया कपमा नेपालविरुद्ध एक विकेटको रोमाञ्चक जित दिलाउन पनि नरेनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उक्त लो स्कोरिङ म्याचमा उनले ५४ बलमा २६ रन जोडे ।
बलिङमा नरेनले ७ ओभरमा एक मेडनसहित २३ रन खर्चिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।