हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भागलगायत बाँकी तराईका भू–भाग तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशीलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आइतबार साँझबाट मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।
सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।