विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल अनामनगरबाट पक्राउ [फोटो फिचरसहित]
तस्बिर : रमेश दवाडी/फरकधार

काठमाडौँ– सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले अनामनगरस्थित युनियन हाउसबाट पक्राउ गरेको छ । 

११ संयुक्त विद्यार्थी संगठनले शुक्रबार (आज) गरेको पत्रकार सम्मेलनबाट ढकाललाई प्रहरीले पक्राउ गरेको हो । 

ढकालले पत्रकार सम्मेलालाई सम्बोधन गरिरहेका थिए । सम्मेलनमा उनी अन्तिम वक्ता थिए । प्रहरी युनियन हाउसभित्र प्रवेश गरे । र, ढकालमाथि निगरानी राखे । 

आफू पक्राउ पर्ने थाहा पाएपछि अध्यक्ष ढकालले भाषणका क्रममा सरकारविरुद्ध खनिए । उनले समातेर के गर्नुहुन्छ भन्दै चुनौती दिए । भने, ‘समातेर के गर्नुहुन्छ ? म चुनौती दिन चाहन्छु, राज्यले गर्ने यस्ता पक्राउबाट विचलित हुनुहुँदैन ।’

युनियन हाउसको सभाकक्षमा पत्रकारसम्मेलन जारी थियो  । विद्यार्थी संगठनका केही अध्यक्षहरूले भाषणा गरे । कार्यक्रम जारी रहँदै प्रहरी प्रवेश गरेर चिरञ्जीवी ढकाललाई पक्राउ गर्न खोजेको थियो तर ऋषिकेश जंग शाहले प्रहरीलाई कार्यक्रम नबिथोल्न आग्रह गरे । 

सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको सम्मेलनमा सबैको ध्यान ढकालमाथि प¥यो । जब ढकालले भाषण सक्न लागे तब बाहिर प्रहरी चनाखो भयो । डियसपीले जवानलाई सांकेतिक रूपमा आदेश दिए । डियसपीले मुन्टोहल्लाउँदै भने, ‘त्यो रातो कपडा लगाउने हो । चश्मा लगाएको छ ।’ 



कार्यक्रम सकिएको घोषणा उद्घोषकले गर्दै थिए । अध्यक्ष ढकाललाई डियसपीले बोलाए । हात मिलाए अनि जवानले पाखुरामा समातेर प्रहरीको भ्यानतिर लगे । त्यहाँ उपस्थित विद्यार्थी नेताले ढकाललाई छुटाउन खोजे तर प्रहरीका अगाडि उनीहरू निरीह देखिए । उनीहरूले प्रहरी र सरकारबिरुद्ध नाराबाजी गरे । भने, ‘प्रहरी दमन मुर्दावाद ! केपी ओली सरकार मुर्दावाद ! 

११ विद्यार्थी संघमा चिरञ्जिवी यादव नेतृत्वको राष्ट्रिय विद्यार्थी संघ, श्यामबाबु गौतम नेतृत्वको नयाँ शक्ति पार्टी, विद्यार्थी युनियन, पूर्वअध्यक्ष ऋषिकेश जंग शाहको नेपाल विद्यार्थी संघ, चिरञ्जीवी ढकाल नेतृत्वको अखिल क्रान्तिकारी, आलोक रायमाझी नेतृत्वको अखिल क्रान्तिकारी, हरिकृष्ण गजुरेल नेतृत्वको अखिल क्रान्तिकारी, घनश्याम मिश्र नेतृत्वको अनेरास्ववियु पाँचौँ, ताराप्रसाद अर्याल नेतृत्वको राष्ट्रवादी विद्यार्थी संघ, प्रवीण मिश्र नेतृत्वको अखिल नेपाल विद्यार्थी युनियन, विवेक राई नेतृत्वको समाजवादी विद्यार्थी फोरम र दुजाङ शेर्पा नेतृत्वको नेपाल आदिवासी विद्यार्थी महासंघ रहेका छन् ।   



सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विभिन्न नेता तथा कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । उक्त पार्टीका नेता तथा कार्यकर्तालाई जहाँसुकैबाट पनि पक्राउ गर्न प्रधानमन्त्री ओलीले प्रहरीलाई ठाडो आदेश दिएका थिए । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार १२:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया