गाईघाट– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा आबद्ध जुनसुकै तहका र जोसुकै नेता पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने बताएका छन् । बालुवाटारको जग्गा काण्ड, एनसेल काण्ड र वाइडबडी काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएको र यदि पुष्टि भए आफूहरु सभापति देउवालाई कारबाही गर्न तयार रहेको बताए ।
प्रेस युनियन उदयपुरले शुक्रबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । पार्टीको जागरण अभियानअन्तर्गत उदयपुर पुगेका पौडेलले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचे जस्तो काम गर्न नसकेको आरोप लगाए ।
अहिले सत्ता पक्ष र विपक्षीबीच चलिरहेको वाकयुद्धले प्रजातन्त्र र स.घीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाब नेता पौडेलले दिए । कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टीभित्रका झिनामसिना कुराले कुनै असर नपार्ने उनले बताए ।
नेता पौडेलले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न वर्तमान सरकारलाई सुझाब दिए । यसो गर्न सके मात्रै नेपालले छिटो विकासमा फड्को मार्ने उनको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।