प्राइभेट इज पोलिटिकल : यौनहिंसाविरुद्धको सशक्त अभियान

काठमाडौं – लुनिभा तुलाधर, अर्चना पन्थी, अनुजा अधिकारी, केनिपा सिंह, विनिता गुरुङ, रोशनी स्याङ्बो, सचिन मल्ल, सुदाम सिके र आयुष प्याकुरेल गरी नौजना कलाकार एकसाथ मञ्चमा आइपुगेका छन् । 

उनीहरू समाजमा महिलामाथि गरिने विभिन्न खालका  हिंसाका पीडित र पीडकपक्षका प्रतिनिधि हुन् । १ घन्टा ४० मिनेटका लागि नाटक ‘प्राइभेट इज पोलिटिकल’मा उनीहरू कसैको जीवन बाँचिरहेका छन् । मञ्चमा अरूको जीवन बाँचे पनि यी घटना समाजका वास्तविक घटना नै हुन् । मञ्चमा उनीहरू नाटकको माध्यमबाट दर्शकहरूसँग प्रत्यक्ष रूपमा बहस गरिरहेका छन् । 

यो यौन शोषणविरूद्धको एउटा अभियानको सुरुवात हो । वर्तमान समयको लागि आवश्यक अभियान हो । यो अभियान सफल बनाउन र बहसलाई उपलब्धिमूलक र सार्थक बनाउन निर्देशक आकांक्षा कार्कीले निकै मिहिनेत गरेकी छिन् । यस्तै तमाम घटना, जुन बाहिर नआई लुकेर रहेका छन् । ती घटनालाई आफ्नो कलममार्फत समेटेर सौरभ कार्कीले बहसका निम्ति निर्देशक कार्कीको जिम्मा लगाएका छन् । यसमा सुरज सुवेदी र सुदाम सिकेले सौरभलाई सघाएका छन् । 

नाटकको शैली वा रंगशिल्प हेर्ने हो भने यसमा नयाँ प्रयोग वा नयाँपन खासै केही छैन । तर नयाँ काम भने  गर्न खोजेका छन् । नाटकमा ६ जना महिला रंगकर्मी छन् । जो नाटकको रिहर्सलमा जुटेका छन् । आ–आफ्नो चरित्र मिहिनेतसाथ निर्वाह गरिरहेका छन् । उनीहरू योनीका कथाहरूको रिहर्सलमा छन् । 

घर–समाजभित्रका महिलाका कथा–व्यथालाई मनोवादका रूपमा देखाउने तयारी गरिरहेका छन् । रिहर्सलमा महिलाहरू मात्र भएकाले पनि होला, उनीहरू योनीबारे खुलेर कुरा गर्छन् । मनका कुरा एक–अर्कामा निर्धक्कले पोखिरहेका छन् । सबैका कथा कहालीलाग्दा छन् ।



रिहर्सल चलिरहेको छ । बीचबीचमा हाँसोमजाक पनि गरिरहेका छन् । पालैपालो आउँछन् र संसारभर योनीको नाम फरक–फरक हुन्छ है भन्दै जिस्किँदै आफूले सुनेका बुझेका र अध्ययन गरेका कुरा सुनाउँछन् । कहिलेकाहीँ आफैँ लजाउँछन् पनि । 



आक्रोश पोख्दै ‘हामी महिलाहरू यो समाजमा मनमा कुनै डर नबोकी स्वतन्त्र भएर हिँड्ने वातारण कहिले बन्छ ?’ एक–अर्कालाई भनिरहेका छन् । पुरुषले आफूमाथि लगाएका गिद्धेनजरबारे एक–अर्कालाई सुनाइरहेका छन् । 

नाटकमा महिलामाथि हुने हिंसा र घटना हरेक दिन बढिरहेको कुरालाई ती महिला रंगकर्मीहरू छलफल गर्न थाल्छन् । नाटकमा महिलामाथि किन यस्तो हुन्छ ? किन हामी सहेर बस्छौँ ? अब हामी चुप लागेर बस्नुहुँदैन । कसैले हामीलाई अप्ठ्यारो हुने व्यवहार गर्छ भने त्यसको प्रतिकार गर्न सक्नुपर्छ भनेर छलफल गरिरहेका छन् । 

नाटकमा निर्मलाको बलात्कार हुँदाको पीडालाई एक जना कलाकारले सुनाउँछन्, जसले दर्शकलाई स्तब्ध बनाउँछ । निर्मलाको आवाजमा पात्रले आफ्नो बुवालाई प्रश्न गरिरहेकी छे । भन्छे– ‘बुवा तपाइले मलाई किन भन्नुभएन ? कि मैले यस्तो खजाना बोकेको छु, जसमाथि आक्रमण गर्न संसार नंग्रा फिँजाएर बसको छ ? किन भन्नुभएन कि यो संसारमा तपाईंजस्तै मान्छेको भेषमा राक्षसहरूको बिगबिगी छ र म कुनै पनि वेला उनीहरूबाट चिथोरिन सक्छु ? मारिन पनि सक्छु ?’ रुँदै भन्छे‘ ‘बाबा तपाइँले सुनसानमा नजानू भन्नुभो, एक्लै नहिँड्नु, चोटपटक लाग्ला, कीरा फट्यांग्राले टोक्लान् भन्नुभो, तर पल्लाघरे, तल्लाघरे अंकल र दाजुबाट पनि टोकिन सक्छेस्, किन भन्नुभएन ?’ 

यसले सभ्य मान्छेको भेषमा अत्याचारी, बलात्कारी वा पुरुष हुनुको अहम् बोकेर हिँडेका मानसिकतामाथि ठूलो व्यंग्य प्रहार गरेको छ । त्यहीबेला  अर्को पात्रले आफन्तको नाम यौनशोषक मौजुद भएको बताउँछिन् । जो माया गर्ने नाममा कलिलै उमेरका बालिकाहरूलाई नजानिँदो पारामा खुलेआम यौनशोषण गरिरहेका हुन्छन् । उनले आफ्नो घटना सुनाउँछिन् । भन्छिन्– ‘सानो छँदा माया गरेर चकलेट दिनुहुन्थ्यो, यसै बहाना उनले मेरो गाला चिमोट्ने, सुम्सुम्याउने, एक्लै भएको वेला जबरजस्ती गर्न खोज्थे ।’ यसरी उनले आफ्नो कथामार्फत समाजमा भएका यस्ता हजारौँ घटनाको संकेत गरेकी छिन् । 

यस्ता घटनाको पुञ्ज हो, यो नाटक । विद्यालयमा शिक्षकले गरेको व्यवहार । त्यस्तै, घरमा आफ्नै मान्छेबाट, योग आश्रममा गुरुबाट, कार्यालयमा, द्वन्द्वकालमा महिलामाथि हुने यस्ता यौनहिंसा हरेक क्षेत्रमा छ । नाटकमा यी सबै घटनालाई मार्मिक र यथार्थ ढंगले कलाकारले मनोवाद शैलीमा प्रस्तुत गरेका छन् । पीडितले चुप भएर होइन, यसको विरोध गर्नुपर्छ भन्ने संकेत यो नाटकले गरेको छ । 

पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र हुँदै नेपाली राजनीतिमा परिवर्तन आए पनि देशको अवस्था अझै जस्ताको तस्तै छ । जति परिवर्तन हुनुपर्ने हो त्यति भइनसकेको अवस्था छ । महिलाको सामाजिक स्थितिमा परिवर्तन आएको छैन । अर्थात्, परिवर्तन हुन सकेको स्थिति छैन । बरु जति–जति परिवर्तन भए पनि बलात्कारका घटना बढिरहेको छ । नाटकमा ‘बलात्कार कसका कारण हुन्छ ?’ भनेर नाटकमा एक पात्रले सोध्छिन् जो नाटकमा रिहर्सलकी निर्देशक हुन्, तर कसैले पनि जवाफ दिँदैन । सब चुपचाप । माहोल शान्त हुन्छ । जवाफ आउँछ– ‘महिलाले बलात्कारी पुरुष जन्माउनाले र महिलासँग योनी भएकाले ।’ प्रश्न र उत्तर आफँैमा गम्भीर छ । यो संवादले पनि पितृसत्तात्मक सोचलाई नै संकेत गरेको छ । किनभने दुवैमा महिलालाई नै दोषी देखाइएको छ ।

नाटकले एकपछि अर्को दर्दनाक घटनाको उजागर गरी बहसको बाटो पहिल्याउने प्रयास गरेको छ । यो नाटकको एकदमै सकारात्मक पक्ष हो । नाटकको विषयवस्तु एकदमै गहन छ । तर, अभिनयका दृष्टिकोणले हेर्दा अलि कमजोर लाग्छ । कुनै–कुनै ठाउँमा अन्य गतिविधि नपुगेझैँ भान हुन्छ ।
 
विश्वप्रसिद्ध नाटककार ब्रटोल्ड ब्रेख्तले भनेका छन्– ‘नाटकले भन्न खोजेको कुरा वा लागेको कुरा कुनै भूमिका नबाँधीकन सीधै भन्नुपर्छ । यसले गर्दा दर्शकमा कुनै अन्योल नछाओस् ।’ यो नाटक ठ्याक्कै ब्रेख्तियन शैलीमा नहोला, तर यसमा जे भन्नुपर्ने हो त्यो कुरा सीधै भनिएको छ । अर्थात्, यो नाटकमा उठाइएका विषयवस्तु एकदमै सान्दर्भिक र सार्थक छन् । नाटक हेर्ने जो–कोहीलाई आफूले गरेका कर्तुत एकपल्ट सम्झाउँछ र झस्काउँछ । आफैँमाथि प्रश्न गर्न बाध्य बनाउँछ ।

 तर, नाटकबाट दर्शकले केही नयाँ स्वाद वा खोजेको हुन्छ । त्यो यसमा कमी नै छ । अथवा यसले भन्ने खोजेका कुरा सीधा र एकदमै स्पष्ट छ । तर, थोरै नाटकीयपनको कमी छ किजस्तो महसुस हुन्छ । किनभने नाटकको गति अलि स्लो छ । नाटक हेर्दा कहिलेकाहीँ आलस्य महसुस हुन्छ । कलाकारको अभिनय पनि घरी–घरी उस्तै लाग्छन् । जे होस्, अलिकति नाटकीयपन रुचाउनेका लागि यो नाटक अलिक कमजोर हुन सक्छ । यद्यपि, दर्शकलाई आफूतिर तानिरहन सक्नु यसको बलियो पक्ष हो ।
 
समाजमा घट्ने गरेका धेरै घटना योनीका कारण हुने गर्छन् । यो कुरा नाटकको विषयवस्तु र बहसले प्रमाणित गर्छ । त्यसैले यो नाटक शताब्दीयौँदेखि वेवास्ता गरी आएको भयावह सत्यको उजागरा हो । महिलाका पीडादायी भोगाइको प्रमाण हो । वर्तमान त्रासद समयले खडा गरेको उत्तरविहीनजस्तो देखिने ठुल्ठूला प्रश्नमाथिको खुला बहस हो । 

हामीले देखेको, पढेको, सुनेकोभन्दा निकै नै भयावह र दर्दनाक घटना भइरहेका हुन सक्छन् । सामान्य नजरले हेर्दा अपवादजस्ता लाग्छन् । तिनै सत्यको उजागर गर्ने कोसिस गरेको छ, यो नाटकले । अँध्यारो कालो बक्सभित्र घटिरहेका यी सबै घटनालाई देखिने बनाउने र चाहिने ठाउँमा उज्यालो र नाटकलाई कलरफुल बनाउने काम गरेका छन्– इँगिहोपो कोइँच सुनुवारले । प्रकाशको व्यवस्थापन गरेर ।

‘यो नाटक केवल नाटक नभएर एउटा अभियान हो जुन घरको बन्द कोठाबाट मुक्त भएर यहाँसम्म आएको छ,’ नाटककी निर्देशक कार्की भन्छिन्, ‘यो काम पितृसत्ताको बन्देजबाट उम्किने एउटा प्रयास हो ।’ हरेक वर्ष काठमाडौंमा योनीका कथाहरू अभियानका रूपमा प्रस्तुत गर्र्दै आएको उनले बताइन् । 

नाटक ‘प्राइभेट इज पोलिटिकल’ योनीका कथाहरूको चौथो संस्करण हो  । यो अभियान लगभग ३० वर्षअघिदेखि अमेरिकाबाट सुरुवात भएको हो । विश्वका धेरै देशमा यसको अभ्यास गरिन्छ । यसैक्रमा नेपालमा पनि यसको सुरुवात भएको हो । 
 
नाटक दर्शकसामु आउँदा हेना नगरकोटी, कृपा खड्की, रक्षा थापा, सिद्धार्थ पुडासैनी, अनामिका गौतम, मुकेश श्रेष्ठ, बबी थापाले विशेष सहयोग गरेका छन् । यी सबै मञ्चमा नदेखिएका चरित्र हुन् । 

  • प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार १७:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया