logo-img

‘नेपथ्य’ अब पुस्तकमा [भिडियोसहित]

संसारभर फैलिएका नेपालीबीच नेपथ्य संगीतकर्ममा स्थापित नाम बनिसकेको छ । जन्मिएको साढे तीन दशकपछि अब भने यो ब्याण्ड सुनिने मात्र होइन, पढिने सामग्रीकारूपमा पनि पाठक माझ आउने भएको छ । 

नेपाली श्रोता-दर्शकहरुले अत्यधिक मन पराएको सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तकको अग्रिम बुकिङ योजना सन् २०२५ को प्रारम्भकै दिन खुला हुँदैछ । ‘हामीले आजसम्म अनेक जिज्ञासाहरूको जवाफ दिँदै आएका छौँ,’ ब्यान्डका संस्थापक एवं गायक अमृत गुरुङले भने, ‘तर आजसम्म नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।’

पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव समेटिएको छ । संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा उपयोग गर्न गरिएका प्रयत्नहरूको जानकारीले दिनेछ । पुस्तकमा ब्यान्डका उज्याला पक्षहरू मात्र नभई जानीनजानी भए गरेका अध्याँरा पाटाहरू र सिकाइ पनि प्रस्तुत गरिएको छ ।

नेपथ्य ब्यान्डसँगै दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन् । लेखक गिरीको अनुवादमा आनी छोइङ डोल्माको जीवनी ‘फूलको आँखामा’ र कुलचन्द्र गौतमको ‘आत्मकथा’ प्रकाशित छन् । साथै उनी ‘वीरगंज: मेरो सहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका पनि लेखक हुन् ।



‘विद्यार्थी कालमा ब्यान्डको प्रशंसक, त्यसपछि कला पत्रकार हुँदै कालक्रममा नेपथ्यको नजिक बस्ने अवसरले मलाई ब्यान्डका धेरै पाटोबारे परिचित हुने मौका दियो,’ गिरीश भन्छन्, आफूले थाहा पाएका कुरामा थप खोजी र अध्ययन मिसाएर नेपथ्य पुस्तक तयार पारेको छु ।’​​

गैरआख्यानको जीवनी विधामा उभिएको पुस्तकले नेपथ्य ब्यान्डको अन्तरंग कथा र नेपाली संगीतको एक कालखण्ड अध्ययन गर्न चाहनेहरूका लागि पनि उपयोगी हुने उनको अपेक्षा छ । यो पुस्तकलाई पब्लिकेशन नेपालयले तयार पारेको हो ।

नेपथ्य ब्यान्डको वेबसाइट https://www.nepathya.com.np मार्फत परिचालन हुने यो योजनामा अग्रिम बुकिङका लागि १३ वटा फरक-फरक स्किम उपलब्ध हुनेछ । योजनामा सरिक पाठकले केवल २५ रुपैयाँ तिरेर पुस्तक हात पार्न सक्नेछन् । तर त्यही पुस्तक खरिद गर्न बजारमा भने दुई हजार २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।



  • प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया