हेटौंडा– प्रदेश ३ को नाम र राजधानी तोक्न नेपाली कांग्रेसले प्रदेश सरकारलाई दबाब दिएको छ । सोमबारबाट बाट सुरु हुन लागेको वर्षे अधिवेशनमा सोसम्बन्धी प्रस्ताव नल्याए संसद अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ ।
प्रदेश ३ को संसदले प्रदेश नामांकन र स्थायी राजधानी टुंग्याउन नसकेका कारण प्रतिपक्षी दल कांग्रेसले दबाब दिँदै आएको छ । सत्तारुढ दल नेकपामै राजधानी र प्रदेश नामांकनबारे मतान्तर कायम रहेका वेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले दबाबस्वरूप संसद् अवरुद्ध गर्ने तयारी गरेको हो ।
प्रदेश नामांकन र राजधानीले अलमलको स्थिति सिर्जना भएकाले छिटो टुंग्याउन आफ्नो पार्टीले दबाब दिन लागेको प्रतीपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँले बताए । यसअघि प्रदेश ३ संसदले हिउँदे अधिवेशनको अन्त्यसम्म राजधानी र नामाकरणको विषय टुंग्याउने बताएको थियो ।
तर, वर्षे अधिवेशनमा पनि यसलाई प्राथमिकतामा राखिएको छैन । प्रदेश राजधानीको विषयलाई १०औँ नम्बरमा राखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेश नामांकन र राजधानीबाहेकका ८ विषयले सोमबारको बैठकमा प्रवेश पाउँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।