विराटनगर– ७ वैशाखमा मोरङमा २९ वर्षीया रिना बस्नेतको शव बेवारिसे अवस्थामा भेटिएपछि सुरु गरिएको पोस्टमार्टम जाँचको नतिजा आएको छ । सोमबार आएको रिपोर्ट नेगेटिभ भएको प्रहरीले जनाएको छ । रिपोर्टले रिनाको हत्या नभएका पुष्टि गरेको मोरङ प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।
पोस्टमार्टमका साथसाथै प्रहरीले रिनाको हत्या भएको आशंकामा ५९ जनाभन्दा बढीसँग सोधपुछ पनि गरेको थियो । तीमध्ये केहीको पोलिग्राफ टेस्ट पनि गरिएको थियो ।
रिनाका प्रेमी भनिएका कमल नेपाल, कमली पत्नी र मदन गुरागाईंको पोलिग्राफ टेस्ट गरिएको र यसबाट पनि रिनाको हत्या नगरिएको प्रमाणलाई जोड पुगेको प्रहरीले बताएको छ ।
७ वैशाखमा पथरीमा रिनाको शव उनी बस्ने घरकै अगाडि सडकमा भेटिएको थियो । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् । उनी तेस्रो तलामा १४ वर्षे छोरासँगै बस्दै आएकी थिइन् ।
रिनाको शव भेटिएपछि स्थानीय अधिकारकर्मीले उनको हत्या भएको आशंका गरेका थिए । प्रहरीले हत्यारा लुकाउन प्रयास गरिरहेको भन्दै पथरीमा दैनिक विरोध पनि भइरहेको थियो । रिनाको मृत्युको वास्तविक पत्ता लगाउन दबाब दिने उद्देश्यले त्यहाँ स्थानीय महिलाहरुको अगुवाइमा संघर्ष समिति पनि बनेको छ ।
प्रहरीले चाहिँ पोलिग्राफी, पोस्टमार्टमलगायतको रिपोर्ट नेगेटिभ आए पनि अन्य अनुसन्धान जारी राख्ने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।